साहित्य सन्ध्या पुरस्कार ‘जगन्नाथ आचार्य’लाई

मितिः २०६८।५।३
रमेश पोखरेल (उपाध्यक्ष – साहित्य–सन्ध्या)

साहित्य–सन्ध्याको ३०६ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको प्रवचन कक्षमा २०६७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ सिन्धुपाल्चोकका साहित्यकार श्री जगन्नाथ आचार्यलाई अर्पण गरियो । ठिक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा वरिष्ठ प्रगतिवादी साहित्यकार डा. मोदनाथ प्रश्रित प्रमुख आतिथि हुनु हुन्थ्यो भने नेकपा एमाले स्थायी समिति सदस्य एवम् केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, वरिष्ठ समालोचक आनन्ददेव भट्ट, वरिष्ठ पत्रकार भैरव रिसाल, प्राज्ञ प्रा.डा.महादेव अवस्थी, कथाकार हरिहर खनाल, प्रा.गोपीकृष्ण शर्मा, उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा.केशवप्रसाद उपाध्याय, अनिरुद्ध तिमसिना, स्रष्टा चयन समितिका संयोजक डा.जीवेन्द्र देव गिरी, सदस्यद्वय शान्ता मानवी र कवि एवम् समीक्षक देवी नेपाल, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, साहित्यकार झमक घिमिरे, वरिष्ठ कवि पूर्णविराम र सम्मानित स्रष्टा जगन्नाथ आचार्य अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

साहित्य सन्ध्याले २०३३ मङसिरदेखि राजविराजबाट थालनी भएर २०३७ सालमा बन्द हुन पुगेको अभियानलाई २०३९ देखि काठमाडौँमा हरेक महिनाको पहिलो शनिवार अपराह्न ठिक १ बजे नेपाल ल क्याम्पस र आर.आर.क्याम्पसमा अविच्छिन्न रूपमा साहित्य गोष्ठी गर्दै २८ वर्षको काठमाडौँको यात्रा तय गरि सकेको छ र हालसम्म २८ जना स्रष्टालाई सम्मानित गरि सकेको छ । सुरुका तिन वर्ष वर्षभरि साहित्य सन्ध्यामा बाचित रचना मध्ये उत्कृष्टलाई साहित्य सन्ध्या पुरस्कार दिने बेवस्था कार्यान्वयन गरिएकोमा २०४६ पछि राष्ट्रिय स्तरको बनाई राष्ट्रिय स्तरमा प्रगतिशील साहित्यमा योगदान गर्ने एक जना राष्ट्रिय स्तरको साहित्यकारलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने बेवस्था कार्यान्वयन गरिएको जानकारी कार्यक्रम सञ्चालकले सुरुमै दिनु भएको थियो । डा.जीवेन्द्र देव गिरीको संयोजकत्वमा शान्ता मानवी र देवी नेपाल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको र उक्त समितिको सिफारिस बमोजिम जगन्नाथ आचार्यलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय गरिएकाले स्रष्टा छनोट समितिका तर्फबाट कवि तथा समीक्षक उपप्रा.देवी नेपालले वनारस कालदेखि नै पुष्पलाल, मदन भण्डारीको सामिप्यमा रहेर डा.मोदनाथ प्रश्रितको सल्लाह एवम् निर्देशनमा साहित्य लेखन प्रारम्भ गर्ने र अविच्छिन्न रूपमा विचार र बेवहारको तादात्म्य राख्ने, साहित्यका माध्यमबाट सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानका अभियन्ता, लगातार ४–५ घण्टा कवितामा अन्ताक्षरी खेल्न सक्ने, निष्ठा, विचार समर्पणका त्रिवेणी बनेका निष्कलङ्क यी विशिष्ट प्रतिभा जगन्नाथ आचार्यलाई २०६७ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्न छनोट गरिएको जानकारी दिनु भयो । देवी नेपालले तयार पार्नु भएको सम्मानित स्रष्टा जगन्नाथ आचार्यको परिचय पुस्तिका साहित्य सन्ध्याले प्रकाशित समेत गरेको छ ।

त्यसपछि सम्मानित स्रष्टा जगन्नाथ आचार्यलाई साहित्य सन्ध्याका अध्यक्ष एवम् समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नु भएको थियो भने स्रष्टा आचार्यलाई नेकपा एमाले स्थायी समितिका सदस्य एवम् केन्द्रीय अनुशासन विभागका अध्यक्ष अमृतकुमार बोहराले टीका लगाइ दिनु भयो र समारोहका प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले सम्मान पत्र तथा पुरस्कार राशि अर्पण गर्नु भएको थियो । साहित्य सन्ध्या पुरस्कारको राशि रु.१०,०००।– रहेको छ । सम्मान पत्र कवितामा तयार पारिएको थियो र उक्त सम्मान पत्र कवि देवी नेपालले बाचन गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्व जगन्नाथ आचार्यले गाउँमा बसेर सकेको साहित्य सेवा गरि रहेको सामान्य व्यक्तिलाई पनि खोजी गरी साहित्य सन्ध्या जस्तो जनस्तरको पुरस्कारका लागि योग्य ठानी सम्मानित गरिएकोमा आभार व्यक्त गर्नु भयो । साथै भविष्यमा पनि निष्ठापूर्वक सेवा गरि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो र करिब २० मिनेट कवितामा अन्ताक्षरी गाउनु भएको थियो । उहाँको कविता वाचनको कला, गला र आकर्षक प्रस्तुतिको स्रोताले मुक्त कण्ठले प्रशंसा गरेका थिए
त्यसै गरी २०३३ साल मङ्सिरमा राजविराजमा साहित्य सन्ध्याको थालनी गर्ने मध्येका तिन जना वरिष्ठ व्यक्तित्वलाई साहित्य सन्ध्याले यस पटकदेखि इतिहासको सम्मान र मूल्याङ्कन गर्ने परम्पराको थालनी गर्दै यस वर्ष तत्कालका संस्थापक एवम् हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा.केशवप्रसाद उपाध्याय र विराटनगरलाई कर्म थलो बनाएका, प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहेका अनिरुद्ध तिमसिनालाई टीका अमृतकुमार बोहराले लगाइ दिनु भएको थियो भने दोसल्ला ओढाएर सम्मान पत्र प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले अर्पण गर्नु भएको थियो । उहाँहरू तिनै जनालाई प्रदान गरिएको सम्मान पत्र सन्ध्याका सदस्य भागवत आचार्यले वाचन गर्नु भएकोे थियो ।

कवि जगन्नाथ आचार्यलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गरि सकेपछि र साहित्य सन्ध्याका तिन जना संस्थापकलाई सम्मान गरेपछि प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले वनारस कालदेखि प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको सामाजिक एवम् सांस्कृतिक रूपान्तरण अभियानको अविच्छिन्न नेतृत्व गर्ने, विचार र बेवहारको तादाम्य राख्ने निष्ठावान् स्रष्टा जगन्नाथ आचार्यलाई साहित्य सन्ध्या पुरस्कार दिने निर्णय अत्यन्त उचित रहेको, राजनीति बेइमान भइ रहेको र स्वार्थका निम्ति लुछाचुँडी भइ रहेको वर्तमानमा नेताहरूले साहित्यकारबाट सिक्नु पर्ने तर राजनीतिले साहित्यलाई ओझेलमा पारेको धारणा राख्नु भयो । त्यसै गरी साहित्य सन्ध्याका संस्थापक मध्येका तिन जनालाई सम्मान गरेर सन्ध्याले इतिहासको सम्मान गरेको मात्र नभई सत्कर्म कुनै न कुनै दिन सम्मानित हुन्छ भन्ने मान्यता स्थापित गरेकाले सम्मानित व्यक्तित्वलाई बधाई दिँदै सत्कर्मको थालनीका लागि साहित्य सन्ध्यालाई पनि धन्यवाद दिनु भयो ।
सम्मानित व्यक्तित्वहरू गङ्गाप्रसाद उप्रेती, प्रा.डा.केशवप्रसाद उपाध्याय र अनिरुद्ध तिमसिनाले अत्यन्त कठिन दिनमा नेपाली भाषाको लेखन तथा प्रयोगका लागि विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने प्रयोजनले राजविराजमा साहित्य सन्ध्याको थालनी गरेको जानकारी दिनु भयो र आफूहरूले थालनी गरेको त्यो कामको मूल्याङ्कन होला, त्यो संस्थाले ३५ बर्से यात्रा पार गर्ला र कुनै दिन त्यस संस्थाले आफैँलाई सम्मान गर्ला भन्ने सपना नै नदेखेको धारणा राख्दै सम्झेर सम्मान गरेकोमा साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिनु भयो ।

साहित्य सन्ध्याका सल्लाहकार श्री जगत् उपाध्याय प्रेक्षित हालै प्राध्यापक हुनु भएको र सँग सँगै नेपाल संस्कृत विश्वविद्यालयको रजिष्ट्रार जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गरियो र सफल कार्य कालको कामना गरियो ।

समारोहमा सरस्वती चिमौरिया, बाल कवि विज्ञता कार्की, बूँद राना, रुपक अलङ्कार, लक्ष्मण गाम्नागे, रजनी ढकाल, पुरुषोत्तम सुवेदी, जयन्ती स्पन्दन, कणाद महर्षि, कविता पौडेल, सानु पहाडी, यदुनाथ वसन्तपुरे, पीताम्बर भण्डारी, चन्द्रप्रसाद न्यौपाने, भारद्वाज मित्र, झमक घिमिरे (वासुदेव अधिकारीले वाचन गरि दिनु भएको) र रमेश पोखरेलले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भयो ।
समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले निष्ठावान् एवम् प्रतिवद्ध व्यक्तित्वलाई सम्मानित गर्न पाएकोमा खुसी व्यक्त गर्दै सन्ध्याको निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइ दिनु हुने, विराटनगर र सिन्धुपाल्चोकदेखि आइ दिनु हुने सम्पूर्ण साहित्यकार तथा अतिथिज्यूहरूलाई अनि सहयोग गर्ने सबै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *