बिन्दु शर्माको कवितासंग्रह र समालोचनासंग्रह लोकार्पण

२०७५।११।११

बिन्दु शर्माको कवितासंग्रह “ओक्कल, दोक्कल पिपल पात” र समालोचनासंग्रह नेपाली समालोचनाका नवीन आयामको लोकार्पण आज एक समारोहको विच रत्नराज्यलक्ष्मी क्याम्पसको सभाहलमा सम्पन्न गरियो ।

त्रि वि वि का शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा दुबै संग्रहहरुको लोकार्पण प्रमुख अतिथि, अतिथिहरु लगायतले संयुक्त रुपमा गर्नुभएको थियो ।

पुष्पराज पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने समालोचक ज्ञानु अधिकारीले कवितासंग्रह माथि समालोचनात्मक मन्तव्य दिँदै समालोचक बिन्दु शर्माको अर्को परिचय, कविको रुपमा, स्थापित भएकोमा बधाई दिँदै यो संग्रह समालोचकलेनै प्रकाशित गरेजस्तै छ, बास्तवमै धेरै प्रभावकारी कविताहरु संग्रहित भएका छन् भन्नुभयो ।

उक्त संग्रहमा संग्रहित केही कविताहरु सर्जक लगायतका कविहरुले वाचन गर्नुभएको थियो । कवितासङ्ग्रह माथि टिप्पणी गर्दै कवि केशव सिलवालले समाजलाई छाडेर हामीले कविता लेख्यौं भने त्यो कविता बन्दैन भन्दै यो संग्रहमा भएका कविताहरुले समाजलाई छाडेका छैनन् भन्नुभयो ।

समालोचनासंग्रह माथि समालोचनात्मक मन्तव्य राख्दै डा अशोक थापाले साहित्य विषय बाहेकको बिषयमा समालोचना गर्दै पाश्चात्य दर्शनका नवीन आयामहरु समालोचक डा बिन्दु शर्माले प्रयोग गर्दै समालोचनाका मूल्य मान्यतामा डा बिन्दु खरो उत्रन सफल हुनु भएको छ भन्ने बताउनुभयो ।

संग्रहहरु लेखनको बारेमा आफ्नो मन्तव्य राख्दै सर्जक तथा समालोचक शर्माले लेखनका सीमाहरूका कारणले सबै राम्रा कृतिहरुको समालोचना नगरिएको र जति कृतिका समालोचना गरिएको छ ति मनले खाएर गरिएको हो भन्दै कविता लेखन हात समातेर उभिने प्रयास मात्र हो भन्नुभयो ।

प्रमुख अतिथि प्रा डा सुधा त्रिपाठीले समापन मन्तव्य राख्दै सर्जक तथा समालोचक शर्मालाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उहाँले बिश्राम नगरी लेखिएका तथा दाङको आञ्चलिकता झल्किएका कविताहरु संग्रहमा संग्रहित भएका छन् र संग्रह भित्र सिंगो दाङ र थारु समाज सजीव भएर बाँचेको छ र एक निर्भिक स्रष्टाको छाप संग्रहमा देखिएको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *