आख्यानकार नारायण ढकाललाई ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ अर्पण

चैत्र १९ गते शनिवार साहित्य सदन नेपालको सभाकक्षमा २०७३ सालको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ वरिष्ठ आख्यानकार नारायण ढकाललाई अर्पण गरियो । साहित्य सदन नेपालका अध्यक्ष अमिर थापाको अध्यक्षतामा र देविका तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ प्रगतिवादी समालोचक निनु चापागाईँ उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा माननीय रामेश्वर फुयाल, सम्मानित स्रष्टा नारायण ढकाल, पुरुषोत्तम सुवेदी, डा.विजय सुब्बा, विजय चालिसे, श्यामल लगायतको उपस्थिति रहेको थियो ।उपस्थित सम्पूर्णलाई साहित्य सदन नेपालका सचिव मित्रलाल पंज्ञानीले स्वागत गर्नु भएको थियो भने देविका तिमिल्सििना, सुशीला प्रधानाङ्ग र हेमनाथ पौडेल रहनु भएको स्रष्टा चयन समितिका संयोजक एवम् साहित्य सदन नेपालका उपाध्यक्ष हेमनाथ पौडेलले २०४२ सालमा बैकुण्ठ लाकौलले रु.एक लाख रकम दिनु हुँदै जनस्तरको साहित्यिक संस्था स्थापनाको चाहना समेत व्यक्त गर्नु भएका कारण रमेश विकलको प्रयत्नले यो संस्था स्थापना गरिएको र यसले हालसम्म संस्थाको संरचना निर्माणका अतिरिक्त रु.दश हजार राशिको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’द्वारा श्यामल, रुद्र खरेल, राजेन्द्र सुवेदी, निनु चापागाईँ लगायतलाई सम्मानित गरि सकेको छ । यस वर्षको सम्मान अर्पणका लागि निबन्धकार, समालोचक, आख्यानकार, प्रगतिशील साहित्यकार हृदयचन्द्रको नाममा स्थापित पुरस्कार त्यस्तै चरित्रका स्रष्टालाई अर्पण गर्ने मान्यता बनाएर चयन गर्दा समाज रूपान्तरण अभियानमा समर्पित समेत रहेका त्यस्तै स्रष्टा नारायण ढकाल उपयुक्त पात्र हुनु हुन्छ भन्ने ठानेर सिफारिस गरिएको जानकारी दिनु भयो ।

सभाध्यक्ष अमिर थापाले सम्मानित नारायण ढकाललाई माल्यार्पण गर्नु भयो भने प्रमुख अतिथि निनु चापागाईँले दोसल्ला ओडाएर र रु.दश हजार राशिको पुरस्कार रकम अर्पण गरेर सम्मान गर्नु भयो । त्यसपछि पुरस्कृत व्यक्त्त्वि नारायण ढकालका बारेमा साहित्यकार पुरुषोत्तम सुवेदीले चर्चा गर्नु हुँदै छोटो जीवनमा नेपाली साहित्यमा ज्यादै ठुलो गुन लगाउने साहित्यकार हृदयचन्द्रसिंह प्रधानले २४ ओटा कृति नेपाली साहित्यमा भण्डारण गर्नु भएको; नेपाली, नेवारी र हिन्दी भाषामा साहित्य लेख्नु भएको देखिन्छ त्यसै गरी नारायण ढकालले पनि आफ्नो सिङ्गो जीवन साहित्य लेखनमा समर्पित गर्नु भएको, पत्रकारिता र नेपाली समाजको रूपान्तरण अभियानलाई पनि सँगसँगै लैजानु भएको; ४ उपन्यास, ५ कथा, २ निबन्ध, २ बाल साहित्यका कृति प्रकाशित गर्नु भएको र आफना सिर्जनामा देशको अवस्थाको चित्रण गर्नु भएको, प्रजातन्त्रका लागि गरिएका विभिन्न आन्दोलनले उहाँलाई लेखक बनाएको, सम्पूर्ण साहित्यमा प्रगतिशील चेतना मुखरित भएको, विश्वसनीय साहित्य लेखनले इतिहास निर्माण हुन्छ भन्ने मान्यता स्थापित गर्न सफल हुनु भएको, काँठको समाजको मनोविज्ञान र त्यहाँको आर्थिक सामाजिक पक्षलाई साहित्यमा सफल ढङ्गले चित्रण गर्नु भएको मात्र होइन राष्ट्रिय चरित्र निर्माणमा काँठको महत्त्वपूर्ण योगदान छ भन्ने स्थापित गर्नु भएको, मिहिनेतपूर्वक साहित्य सिर्जना गर्ने र पटक पटक परिमार्जन गर्ने साथीभाइसँग छलफल गरी सल्लाह लिने, तथ्यपरक सिर्जना गर्ने बहु आयामिक व्यक्तित्व नारायण ढकाललाई सम्मान गरिनुले स्रष्टा मात्र होइन संस्था स्वयम्मा सम्मानित भएको धारणा राख्नु भयो ।

सम्मानित स्रष्टा नारायण ढकालले हृदयचन्द्रसिंहकै पाठशालाको, माक्र्सवादी वैचारिकता अनुसार सामाजिक रूपान्तरण अभियानको र साहित्यिक आन्दोलनको व्यक्ति आफू पनि भएको, बाल्य कालमै हृदयचन्द्रको कविताले आफूलाई प्रभाव पारेको र साहित्य लेखनमा अभिप्रेरित गरेको, शब्द संस्कार र विचार संस्कार पनि उहाँबाट आफूले सिकेको हुँ । साहित्यकार र राजनीतिका सपना चाहिँ फरक हुँदा रहेछन् तर साहित्यकारले जहिले पनि सत्यका पक्षमा लाग्नु पर्छ र रूपान्तरणका पक्षमा आफ्नो लेखनले पनि सघाउनु पर्छ भन्ने मान्यता राखी साधना गरि रहेको आफूलाई एउटा ज्यादै सम्मानित व्यक्तिका नाउमा स्थापित पुरस्कार प्रदान गरिएकोमा गौरव बोध गरेको छु र हालसम्म धेरै पुरस्कार तथा सम्मान प्राप्त गरे पनि यो सम्मानलाई बढी महत्त्वको ठानेको छु भन्नु भयो र सम्मानका लागि धन्यवाद दिनु भयो ।

माननीय रामेश्वर फुयालले आफ्नो क्षेत्रका र अग्रज पनि रहनु भएका नारयण ढकाल सफल साहित्यकार मात्र होइन समाजको यथार्थ र विपन्न वर्गका भोगाइलाई रूपान्तरणको कसीमा घोटेर साहित्य सिर्जना गर्ने कुशल शिल्पी हुनु हुन्छ, चिन्तन र कर्मलाई जोडेर सिर्जना गर्ने स्रष्टा हुनु हुन्छ त्यसैले आजको सम्मान ज्यादै ठिक ठाउँमा परेको छ भन्नु भयो ।

प्रमुख अतिथि निनु चापागाईँले नेपाली साहित्यमा विशिष्ट र छुट्टै पहिचान सहितको योगदान गर्ने प्रगतिशील साहित्यकार हृदयचन्द्रसिंह प्रधानको नाममा स्थापित सम्मान तथा पुरस्कार त्यस्तै निष्ठाका साथ साधनारत नारायण ढकाललाई दिइनु प्रशंसनीय कार्य हो र यसका निम्ति नारायण ढकाल सत्पात्र हुन् । निम्न वर्गका प्रतिको सम्मान, यथार्थप्रतिको प्रतिबद्धता, अनैतिक र अदृश्य शक्तिको विरोध, अन्ध विश्वास र रुढिको विरोध हृदयचन्द्रसिंहका विशेषता हुन् । यी कुुराहरू नारायण ढकालमा पनि मिल्छन् । नारायण ढकाल अध्ययनशील साहित्यकार हुन्, हरेक कुरालाई माक्र्सवादले भने जस्तै आलोचनात्मक रूपले हेर्ने बानी यिनमा पनि रहेको छ । दालभातका निम्ति बुद्धि बेच्नेलाई बुद्धिजीवी भन्ने तहबाट माथि उठ्नु पर्छ साहित्यकारले, हो यही सोच नारायण ढकाल पनि राख्छन् । हाम्रो मुलुकको राजनीतिक आन्दोलनले दास उत्पादन गरि रहेको छ र आलोचनात्मक विवेक निर्माणको प्रयत्न निकै कमजोर भइ रहेको छ । यो अवस्थाभन्दा भिन्न देखिन्छन्– नारायण ढकाल । हाम्रो समाजमा माक्र्सवादीहरूले पुँजीवादी दृष्टिकोण अवलम्बन गर्नु नै माक्र्सवादलाई ठिक ढङ्गले नबुझ्नु हो । नारायण ढकाल आफँै नेपालको इतिहास र यथार्थलाई जोडेर साहित्य लेखिनु पर्छ भन्ने मान्यता राख्दछन् । वास्तवमा विचार फरक भए पनि समाज र यथार्थलाई उजागर गरेर साहित्य लेख्ने हो भने सबैको प्रिय बन्न सकिन्छ भन्ने उदाहरण हुन् बाल्जाक । त्यस्तै अर्का बलिया उदाहरण हुन् – चिनियाँ साहित्यकार लुसुन । छिमेकी भारतमा पनि अहिले भारतीय नेपाली साहित्यमा ‘हस्तक्षेप’ नामको आन्दोलन चलि रहेको छ । यो आन्दोलनमा लागेकाहरू समाजमा माक्र्सवाद र साहित्यमा प्रगतिवाद लागु गर्न कठिन हुन्छ भन्ने ठान्दछन् । आफूहरूले लेखि रहेको चाहिँ राजनीति नै हो भन्दछन् तर माक्र्सवादी भन्न रुचाउँदैनन् । सायद परिस्थितिका कारण पनि हुन सक्छ ! यसरी नचिनिएरै पनि जनताका बिचमा पुग्न खोज्ने प्रवृत्ति उनीहरूमा पाइन्छ । हाम्रो देशको कुरा गर्दा लगभग ६४ प्रतिशतभन्दा बढी जनता माक्र्सवादका बारेमा बुझ्न चाहन्छन् । वास्तवमा हरेक सकारात्मकमा नाकारात्मक र नकारात्मकमा सकारात्मक कुरा हुन्छन् तर सबै कुरालाई नकारात्मक वा अतिरञ्जनात्मक रूपमा प्रस्तुत गर्नु हुँदैन । यो समस्याबाट नारायण ढकालले पनि बच्नु पर्दछ भन्ने मेरो सल्लाह रहेको छ । अहिले हाम्रो मुलुकको माक्र्सवादभित्र बौद्धिक विलास भित्रिएको छ । भनिने गरिएको सर्वहारा व्यवहारमा देखिन छाडेको छ । विचार र व्यवहारमा होस् वा विचार र लेखनमा होस् तादात्म्य पाउन कठिन भइ रहेको छ । तर मूल कुरा चाहिँ वर्गीय मुक्तिको आन्दोलनसँग प्रतिवद्ध हुनु हो नत्र बुद्धिजीवीको भूमिका निर्वाह हुन सक्तैन । साँच्चै बुद्धिजीवीको भूमिका सहित अझै निष्ठाका साथ नेपाली समाजलाई इतिहाससँग जोडेर साहित्य सिर्जना गर्ने अभियानको नेतृत्व पनि नारायण ढकालले नै गर्न सक्नु होस् भन्ने शुभ कामना दिन्छु । साहित्य सदनले सम्मानका लागि नारायण ढकाललाई र यो विशेष समारोहको प्रमुखका रूपमा आफूलाई अवसर प्रदान गरेकोमा गौरवानुभूति गरेको छु । सम्मानित स्रष्टालाई हार्दिक बधाई अर्पण गर्दछु र संस्थालाई धन्यवाद दिन्छु भन्नु भयो ।

उपस्थित सम्पूर्ण व्यक्तित्वलाई संस्थाका सदस्य प्रह्लाद पोखरेलले धन्यवाद ज्ञापन गर्नु भयो भने सभाध्यक्ष अमिर थापाले पुरस्कारका बारेमा, सम्मानित व्यक्त्त्विका बारेमा, साहित्य सदनका बारेमा चर्चा गर्नु भयो, मुलुकको अवस्थाका प्रति व्यङ्ग्य गर्नु भयो र सभा विसर्जन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *