सोमवार, साउन ७, २०७५ 23 July 2018

​साहित्य सन्ध्यामा ‘स्वच्छन्दतावाद, अराजकतावाद र प्रगतिवाद’ विषयमा  चर्चा सम्पन्न

          |   प्रकाशित मितिः आइतवार, पुस २, २०७४     ::: 544 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं 

साहित्य सन्ध्याको नियमित मासिक ३७९ औँ शृङ्खला पुस १ गते शनिबार अपराह्न १ बजे “स्वच्छन्दतावाद, अराजकतावाद र प्रगतिवाद”का बारेमा परिचर्चा तथा विशेष कविगोष्ठी गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्राज्ञ डा.अमर गिरी प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.खेम दाहाल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा. फणीन्द्र निरौला, सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, प्राज्ञ सानु पहाडी, साहित्यकार डम्बर पहाडी, वरिष्ठ कविहरू उमेश उपाध्याय र आनन्दराम पौडेल, अग्रज साहित्यकार ब्रह्मप्रिय प्रेमस्वरूप, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ उपस्थित हुनुहुन्थ्यो । 

उक्त विशेष गोष्ठीमा प्राज्ञ डा.अमर गिरीले ‘स्वच्छन्दतावाद, अराजकतावाद र प्रगतिवाद’का बारेमा विशद चर्चा गर्नुहुँदै आजको यो विशेष समारोहमा छलफलका लागि प्राज्ञिकढङ्गले विषयवस्तु चयन गरिएको झैँ लागेको छ र प्रगतिवादी साहित्यको गन्तव्य र यो आन्दोलनको साङ्गोपाङ्गो अध्ययन आजको छलफलको उद्देश्य हो भन्ने लागेको छ । नेपाली साहित्यमा पनि स्वच्छन्दतावादका नाममा अराजकता देखिँदै छ । मानिस स्वयम्ले मानिसलाई शासन गर्नुपर्दछ, कुनै पनि वाद वा विचारको शासन आवश्यक छैन भन्ने मान्यता प्रमुख बन्दै आएको देखिएको छ । त्यसैगरी साहित्यकारहरूमा पनि अराजकतावाद देखिएको छ । पाश्चात्य साहित्यकार नोम चम्स्कीहरूले व्यक्तिगत स्वतन्त्रताका नाममा अराजकतावादको नेतृत्व गरेको देखिन्छ । नेपालको सन्दर्भमा पनि व्यक्तिको वैयक्तिक सर्वाेच्चता भन्ने विश्वेश्वर कोइरालाको मान्यता आएको देखिन्छ । स्वच्छन्दतावाद कुनै ठुलो आन्दोलनका रूपमा भने विद्यमान छैन, अर्थात् मूल धाराको रूपमा पनि रहेको छैन, समसामयिक सन्दर्भमा प्रयोगमा रहेको छ । अहिले देखिएका प्रवृत्तिहरूमध्ये उत्तरआधुनिकतावादी प्रवृत्ति बढी हाबी भएको देखिन्छ र यसैलाई मूल प्रवृत्ति मान्नेहरू पनि केही देखिन्छन् तापनि यो मूल प्रवृत्ति नै बन्न भने सकेको छैन । पश्चिममा सन १९७० को दशकमा देखिएको यो प्रवृत्ति १९९० को दशकपछि देखि हामीकहाँ भित्रिएको पाइन्छ । हामीकहाँ पहिचानको विचारधारा अगाडि आएपछि गम्भीर विमर्श चलेको देखिन्छ । यसले सिर्जनशील अजारकतावादलाई वैचारिकरूपमा अगाडि बढाएको देखिन्छ । शासनव्यवस्थाले जन्माएको विभेदका कारण सामन्तवादले थोपरेको त्यस्तो विभेद पनि नेपाली समाजमा हुर्किइ नै रहेको पाइन्छ । बहुदलीय व्यवस्था लागू भएपछि पहिचानको मुद्दा प्रखर ढङ्गले उठाइयो र जातीय विद्वेषतिर, नश्लीय चेतनातिर अगाडि बढ्यो । सबै जातजाति र भाषाभाषीको समान विकास र सम्मान आवश्यक छ भनेर नेपालको कम्युनिस्ट आन्दोलनले सशक्तढङ्गले आबाज उठाएको छ तर नश्लीय आन्दोलनतर्फ धकेलेका कारण साहित्यसमेत त्यसबाट प्रभावित बनेको छ । साहित्यमा आएका यस्ता विषय र शैलीले यही कुराको पुष्टि गरेका छन् । अपेक्षितरूपमा वैचारिक बहस र विमर्श हुनसकेको छैन । अहिलेको आमसञ्चारले पनि अराजकतालाई उछाल्ने काम गरिरहेको छ । यस्ता भ्रमपूर्ण कुराहरूलाई परास्त गर्नका लागि पनि वैचारिक बहस र विमर्श आवश्यक रहेको छ । पहिचानको बहसवालासँग वैचारिक आधार नभएका कारण त्यो कथित आन्दोलनको पनि भविष्य चाहिँ सुनिश्चित छैन । साहित्यक परिदृश्यमा अनेक गुट र उपगुट छन्, अनेकखाले विभाजन छन् र तिनले साहित्यिक वातावरणलाई सतही पार्ने काम गरिरहेका छन् । यो पनि एक प्रकारको अराजकता नै हो । अहिले मान्छेका निम्ति विचार होइन प्रचार केन्द्रीय वस्तु बनिरहेको छ, अस्पष्टता देखिन्छ । गतिलो वैचारिक बहसका साथ साहित्यिक पत्रिकाको उपस्थिति पनि देखिँदैन । कमजोर साहित्यिक पत्रिका हुनुको कारण पनि अराजकताले मौलाउने अवसर पाएको छ । विचारधारामा आधारित राजनीतिलाई विखण्डित पार्ने र व्यवहारको वकालत गर्ने प्रवृत्ति पनि मौलाउँदै गएको देखिन्छ र यसको प्रभाव साहित्यमा पनि भेटिन्छ । नयाँ पिँढीको साहित्यलेखन विचारविहीन छ । त्यसले गर्दा सबै सबै ठिक छन् जस्तो ठान्ने सारसङ्ग्रहवादी चिन्तन हावी भइरहेको छ । प्रगतिशील आन्दोलन पनि आफैँमा प्रस्ट हुनु जरुरी छ र यसले रूपान्तरणका पक्षमा नेतृत्व गर्नसक्नुपर्छ । दखिएका समस्याहरूमाथि गम्भीर बहस चलाउँदै समाधान गर्ने, स्रष्टाका सिर्जनाका माध्यमबाट समाजलाई नै भित्रैबाट परिवर्तन गर्नसक्नुपर्दछ । सांस्कृतिक रूपान्तरण नभएसम्म समाज परिवर्तन हुनसक्तैन त्यसैले स्रष्टाले जहिले पनि विचारसहित कलात्मक हस्तक्षेप गर्नुपर्दछ, विसङ्गति र विकृतिका प्रति आलोचनात्मक दृष्टिकोणका साथ विचार सम्प्रेषण गर्नुपर्दछ । साहित्य विचारविहीन हुनै सक्तैन र विचारले मात्र समाजलाई डोहोर्याउनसक्छ भन्ने मान्यतालाई प्रगतिशील आनदोलनले बलियोढङ्गले आत्मसात गर्नुपर्दछ र नेतृत्व प्रदान गर्नुपर्दछ भन्नुभयो ।

गोष्ठीमा अब कस्ता कविता लेखिनुपर्छ भन्ने विषयमा डा.देवी नेपालले सङ्छेपमा चर्चा गर्नुहुँदै युगानुकूल सिर्जना अबको आवश्यकता हो, रुढिवाद र अन्ध्विश्वासका विरुद्धमा, अतिरञ्जनाका विरुद्धमा र आवेगभन्दा पनि खबरदारीका पक्षमा सचेत गन्तव्यका कविता लेखिनुपर्दछ । इमान्दारिताबाट विमुख नभई इमानका कविता, माटोका कविता, आशाका कविता लेखिनुपर्दछ अनि नेतृत्वलाई सिर्जनात्मटक हौसला दिने कलात्मक सिर्जना गर्नु अहिलेको चुनौतीपूर्ण आवश्यकता हो भन्नुभयो ।   

गोष्ठीमा मुकुन्द न्यौपाने, रामबहादुर पहाडी, डम्बर पहाडी, सानु पहाडी, ओमप्रसाद कोइराला, प्रेमराज सिलवाल, डा.खेम दाहाल, मञ्जुश्री प्रधान के.सी., उमेश उपाध्याय, गोपाल नेपाल, जयन्ती स्पन्दन, आनन्दराम पौडेल, चूडा निर्भिक, डा.देवी नेपाल, गोपाल मैनाली, प्रमोद स्नेही, बैरागी जेठा, पुण्य गौतम ‘विश्वास’, रचना दाहाल, लीलाराज दाहाल, ब्रह्मप्रिय प्रेमस्वरूप, भावना न्यौपाने, निष्णु थिङ, डा.प्रदीप मैनाली, भिजन गुरागाईँ र रमेश ढुङ्गानाले आआफ्ना अत्यन्त सासामयिक कविता, गीत, गजल वाचन गर्नुभएको थियो । 

वाचित सिर्जनामाथि प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले चर्चा गर्नुहुँदै कवितासिर्जना कविको कर्म हो । अहिलेका कविता उद्देश्य र दायित्वपरक लेखिने गरेका छन् । कविले कविता लेख्नुअघि विषयमा चुर्लुम्म डुब्नुपर्छ र सिर्जित कविताले मानवमस्तिष्कलाई झन्कृत पार्नसक्नुपर्दछ, अराजकताले त्यसो गर्दैन । कविता लेख्ने स्रष्टामा ज्ञान आवश्यक हुन्छ र उसको सिर्जना समाजसापेक्ष हुनुपर्दछ । आज यो गोष्ठीमा वाचित कविता केही उत्कृष्ट, केही राम्रा र केही सिकारु रहेका छन् तापनि सन्दर्भपरक चाहिँ छन् । लोकको अहित नगर्ने अध्यात्म चिन्तनलाई नराम्रो मान्नुहुन्न, सिर्जना बहुजनहिताय हुनुपर्दछ । ध्यान, तपस्या र साधना पनि दर्शन हो, त्यसैगरी साम्यवाद भनेको पनि त्यागवादी दर्शन हो । स्रष्टाले आफ्ना सिर्जनामा निराशा होइन आशाको सम्प्रेषण गर्नुपर्दछ । समुन्नत समाज निर्माणका लागि विचार पनि समुन्नत हुनुपर्दछ । चाकडी होइन संस्कृति निर्माणका पक्षमा कविता लेखिनुपर्दछ । आज वाचित कविता समसायिक छन्, विषयवस्तुको उठान राम्ररी भएको छ तर सुन्दर र उत्कृष्ट पार्न भने स्रष्टाको साधना आवश्यक भइरहन्छ । समग्रमा गोष्ठी उपलब्धिमूलक रहेको छ भन्नुभयो । 

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज भने हाम्रो समाजमा मौलाइरहेको स्वच्छन्दतावादका नामको अराजकतावाद र त्यसैसँग जुधिरहेको प्रगतिवादका बारेमा बहस गर्नुपर्दछ भन्ने हामीले ठान्यौँ र यसै विषयमा आफ्नो अध्ययन अनुसन्धान केन्द्रित गरिरहनुभएका प्राज्ञ डा.अमर गिरीलाई अनुरोध गर्यौँ । उहाँ आइदिनुभयो र विशद चर्चा पनि गरिदिनुभयो । अतिथिहरू आइदिनुभयो, यहाँहरू सबै आइदिनुभयो, सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु र अर्काे सन्ध्यामा फेरि कुनै समसामयिक विषयमा बहस गरिने नै छ भन्नुभयो । 

त्यसैगरी साहित्य सन्ध्याको नियमित मासिक गोष्ठीमा आफ्ना नियात्रासहित आइदिन स्रष्टाहरूलाई आग्रह गरिएको छ र उत्कृट ठहरिएको एउटा नियात्रालाई “हरिप्रिया–हरिप्रसाद नियात्रा पुरस्कार” शीर्षकमा मासिकरूपमा रु.१,०००।–(एक हजार) पुरस्कार दिने व्यवस्था साहित्य सन्ध्यासँगको सहकार्यमा नियात्राकार पोष चापागाईँले गर्नुभएको छ । आजको यो समारोहमा कार्तिक महिनाका लागि गायत्रीकुमार चापागाईँ र मङ्सिर महिनाका लागि प्राज्ञ नर्मदेश्वरी सत्याललाई पुरस्कृत गरिने व्यवस्था गरिएको थियो तर उहाँहरू उपस्थित हुननसक्नुभएको हुँदा अर्काे समारोहमा पुरस्कृत गरिने छ र नियात्रालेखनमा सक्रिय रहनुभएका स्रष्टालाई हरेक महिना नियात्रासहित उपस्थित भइदिन अनुरोधसमेत गर्दछौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)