आइतवार, असार ११, २०७४ 25 June 2017

​साहित्य सन्ध्यामा ‘साहित्य दर्शन’ चर्चा तथा विशेष गोष्ठी सम्पन्न

          |   प्रकाशित मितिः शनिबार, असार ३, २०७४     ::: 57 पटक पढिएको   |  

Warning: file_get_contents(http://graph.facebook.com/http://dreamlandnepal.com/nepali/?p=2586): failed to open stream: HTTP request failed! HTTP/1.1 403 Forbidden in /home/dreamlan/public_html/nepali/wp-content/plugins/complete-facebook/like_process.php on line 20

रमेश पोखरेल, काठमाडौं 

साहित्य सन्ध्याको नियमित मासिक ३७४ औँ शृङ्खला असार ३ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँमा प्राज्ञ नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘साहित्य दर्शन’ विषयमा प्राज्ञ विष्णु प्रभातले विशद चर्चा गर्नुभएको थियो । प्राज्ञ विष्णु प्रभात प्रमुख अतिथि र पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी विशेष अतिथि रहनुभएको उक्त समारोहमा अतिथिका रूपमा प्रा.डा.खेम दाहाल, अग्रज स्रष्टाहरू उमेश उपाध्याय र ललित बस्नेत ‘भिमाली’, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कवि नरेश शाक्य, सिन्धुपाल्चोकका साहित्यकार यदुनाथ वसन्तपुरे, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ उपस्थित हुनुहुन्थ्यो भने सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गोष्ठीको सञ्चालन गर्नुभएको थियो ।

समारोहका प्रमुख अतिथि विद्वान प्राज्ञ विष्णु प्रभातले ‘साहित्य दर्शन’ विषयमा लामो अवधारणा–पत्र प्रस्तुत गर्नुभयो र विशद चर्चा गर्नुभयो । ‘साहित्यमा दर्शन कि साहित्य दर्शन’ भन्ने बहस अहिले चलिरहेको छ । यद्यपि साहित्यको दर्शनभित्र विभिन्न वादहरू समेटिन्छन् तर कुनै एउटा वाद साहित्य दर्शन बन्न सक्तैन । पूर्वीय दर्शनले एघारौँ शताब्दीमै साहित्य दर्शनका बारेमा बहस चलाएको छ तर पाश्चात्य साहित्यमा अठारौँ शताब्दीदेखि मात्र यसको बहस चल्न थालेको पाइन्छ । दर्शनका बारेमा पुरातन वा आध्यात्मिक पद्धतिका माध्यबाट बहस गर्ने प्रत्ययवादी दर्शन हो । यसैअन्तर्गत सम्पूर्ण धर्म–दर्शन पर्छन् । बुद्धको दर्शन धेरै प्रगतिशील छ । पुँजीवादी विद्वान हेल्बेसियसले वर्ग सङ्घर्षसम्बन्धी दृष्टिकोण प्रतिपादन गरे अनि त्यसैलाई माक्र्सले परिमार्जन गरेर अगाडि ल्याएका हुन् । साहित्य भनेको स्वान्त सुखाय हो भन्ने एक खाले मान्यता छ भने अर्काे खाले मान्यताले प्रयोजनबद्ध अर्थात् समाजको हितको लागि साहित्य लेखिनुपर्छ भन्दछ । साहित्यमा के, किन, कसरी र कसलाई भन्ने बहस चलेको छ र साहित्यको दर्शनले पनि यिनै कुरालाई अङ्गीकार गरेको छ । नेपालमा २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना भएपछि स्पष्टरूपमा साहित्यमा दुइटा धार देखापरेका छन् । वास्तवमा वैज्ञानिक चिन्तन राख्नेहरूले छ्याङ्ग र स्पष्ट हुनेगरी विचार वा धारणा राख्नुपर्छ । यज्ञवल्क्यले ब्रह्मवादी चिन्तनका बारेमा जनकपुर आसपासमा बहस चलाएका हुन् । हरेक साहित्यमा सामान्य र विशिष्टताका आधारमा विश्लेषण गरिनुपर्दछ । ज्ञानको गहिराइमा पुगेर जब अध्ययन अनुसन्धान गरिन्छ तब सत्य वा यथार्थ एउटै रहेको पाइन्छ । इशाको दोस्रो शताब्दीमा भरतमुनिले साहित्य दर्शनमा गद्य र पद्यविधाको विभाजन गरेसँगै सबै विधाको विकास भएको पाइन्छ । साहित्य दर्शनमा नीतिशास्त्र पनि पर्दछ । सानोभन्दा सानो कुरादेखि ठुलोभन्दा ठुलो विषयसम्म दर्शन जोडिन्छ । दर्शन र जीवनको अन्योन्याश्रित सम्बन्ध छ । बुद्ध दर्शनले जातिवादको विरोध गरेको छ, मानव बेचबिखन र दासप्रथाको विरोध गरेको छ, सम्यक आजीविकाका पक्षमा दृष्टिकोण प्रस्तुत गरेको छ तर त्यो पक्षभन्दा अन्य पक्षलाई बढी उजागर गरी भ्रम छर्ने प्रयत्न भएको पाइन्छ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणअन्तर्गत पनि विभिन्न नामधारी साहित्यका कुराहरू (नौलो जनवादी साहित्य, प्रचण्डपथीय साहित्य आदि आदि) उल्लेख भएका भए पनि मूल दार्शनिक अवधारणाकै अङ्ग हुन् भन्नुभयो ।

गोष्ठीमा बैरागी जेठा, अतृप्त पाण्डेय, भलादमी भोला, अभ्यस्त यात्री, चूडा निर्भीक, रचना दाहाल, भूषण हुमागाईँ, ललित बस्नेत ‘भिमाली’, नारायण जनकपुरी, प्रा.डा.खेम दाहाल, लीलाराज दाहाल, डिल्लीराज अर्याल, कात्यायन, ख्यालमान राई, नवराज श्रेष्ठ, उमेश उपाध्याय, अमृता स्मृति, यदुनाथ वसन्तपुरे, पुण्य गौतम ‘विश्वास’, कृष्णदेव रिमाल, रामकुमार पण्डित, अच्युत घिमिरे, प्रशान्त खरेल, नारायण निरासी, उर्मिला पन्त पाण्डेय, गोमादेवी कटुवाल र नर्मदेश्वरी सत्यालले आआफ्ना कविता, गीत गजल वाचन गर्नुभएको थियो ।

विशेष अतिथि पूर्वमन्त्री शान्ता मानवीले साहित्य सन्ध्याको अविच्छिन्न यात्रा उदाहरणीय र अनुकरणीय रहेको छ । आज बहस गरिएको अत्यन्त गम्भीर विषय र यस्ता अन्य समसामयिक विषयमा पनि बहस चलाउने अनि नवोदितलाई प्रशिक्षित गर्ने जुन काम यस संस्थाले गरिरहेको छ त्यो पनि ज्यादै उदाहरणीय भएकाले आफू यो संस्थाको कार्यक्रममा अनुकूल भएसम्म आउने गरेको धारणा राख्नुभयो ।

गोष्ठीकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले समाजका रुढि र अन्धविश्वासलाई समाप्त नपार्दासम्म र महिला र पुरुषको बराबरी सहभागिता नहुँदासम्म समतामूलक समाज निर्माण हुन सक्तैन भन्ने मान्यता बोकेर अभियान चलाइरहेको साहित्य सन्ध्याको यो विशेष समारोहमा ज्यादै गहन र महत्त्वपूर्ण विषयामा आज छलफल चलाइएको छ । त्यसैगरी आजको गोष्ठीमा २७ ओटा रचना वाचित भएका छन् । यी कविता, गजल तथा गीतमा देशले भोगेका गम्भीर समस्या उजागर भएका छन्, राष्ट्रियताको भाव गम्भीररूपमा उठाइएको छ र रचनामा परिष्कार हुँदै गएको आभास भएको धारणा राख्नुभयो । आमन्त्रण स्विकार गरी स्थापितदेखि नयाँ पुस्ता आइदिनुभयो, प्रमुख अतिथि, विशेष अतिथि आइदिनुभयो, सबैलाई हार्दिक धन्यवाद छ भन्नुभयो ।