सोमवार, पुस ३, २०७४ 18 December 2017

​साहित्य सन्ध्यामा ‘संस्कार, संस्कृति र सामाजिक रूपान्तरण’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

          |   प्रकाशित मितिः शनिबार, अशोज ७, २०७४     ::: 148 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं 
साहित्य सन्ध्याको नियमित मासिक ३७७ औँ शृङ्खला ‘संस्कार, संस्कृति र सामाजिक रूपान्तरण’ विषयक परिचर्चा तथा शुभकामना विशेष कविगोष्ठी गरी सम्पन्न भयो । असोज ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रा.डा.कृष्णबहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ विष्णु प्रभात, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कविहरू उमेश उपाध्याय र विधान आचार्य, के.पी.ढकाल, गोविन्दप्रसाद आचार्य, डा.अतीन्द्र दाहाल, ब्रह्मप्रिय प्रेमस्वरूप उपस्थित हुनुहुन्थ्यो ।

विशेष गोष्ठीमा उमेश उपाध्याय, अभ्यस्त यात्री, रमेश गौतम ‘पाल्पाली’, गोविन्दप्रसाद आचार्य, अच्यूत घिमिरे, रामचन्द्र खतिवडा, गायत्रीकुमार चापागाईँ, के.पी.ढकाल, गोपाल मैनाली, मुकुन्द न्यौपाने, डा.अतीन्द्र दाहाल, नर्मदेश्वरी सत्याल, भावना न्यौपाने, ब्रह्मप्रिय प्रेमस्वरूप, यदुनाथ वसन्तपुरे, प्रशान्त खरेल, प्रा.डा.खेम दाहाल, रूपक अलङ्कार, विधान आचार्य र रमेश पोखरेलले आआफ्ना कविता, मुक्तक, गीत, गजल वाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि कवि विधान आचार्यले टिप्पणी गर्नुहुँदै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा अविच्छिन्न तीन दशकभन्दा बढी समयदेखि साहित्य सन्ध्याले गरेको योगदान अतुलनीय रहेको छ । आज वाचित कवितामा पनि उतारचढाबका कुरा आएका छन्, समसामयिक विषयवस्तुमा कविता लेखिएका छन्, प्राकृतिक सौन्दर्यका कुरा कवितामा प्रतिविम्बित भएका छन्, उत्कृष्ट मानवीय चेत कवितामा व्यक्त भएको छ । देशबोधका कुरा र अध्यात्मिक चेतका कुरा पनि कवितामा आएका छन् । सामाजिक वक्रोक्ति अभिव्यक्त भएको छ, विकृत समसामयिकता र पाश्चात्य चेतनाको हस्तक्षेप कवितामा अभिव्यक्त भएको पाइन्छ । नयाँ नयाँ विम्बको प्रयोग कवितामा भएकाले आजका कविता स्तरीय र उत्कृष्ट छन् साथै नेपाली साहित्यको उन्नयनका लागि पनि यी कविताले अहम् भूमिका खेल्ने छन् भन्ने धारणा राख्नुभयो ।

प्राज्ञ विष्णु प्रभातले ‘संस्कार, संस्कृति र रूपान्तरण’ विषयमा बोल्नुहुँदै दसैँ दस प्रकारका भाव, संस्कार र जाति मिलेर बनेको हो । समशीतोष्ण पर्यावरणमा बस्ने संसारका धेरै मान्छेले फरक फरकरूपमा दसैँ मनाउनेगर्दछन् । कलशको ठुलो रूप घट हो र यो शैव संस्कृतिबाट आएको हो । सप्त स्थानको जल, सप्त पात, सप्त भाव मिलाएर घटस्थापना गरिन्छ र यो मातृपूजाको संस्कृति हो । पश्चिमतिर मौलोलाई शिवलिङ्गको प्रतीक मानेर पूजा गर्ने चलन छ भने पूर्वतिरको घटस्थापना पनि शिवलिङ्गकै प्रतीक मानिन्छ । नव रात्रमा नौ देवी भवानीको पूजा गर्ने परम्परा छ भने दक्षिण भारतमा सप्त दुर्गाको पूजा गर्ने चलन छ । तिब्बतबाट मुस्ताङसम्म आएर रिम्पुन्छेले बोनधर्म सम्प्रदायकालाई दमन गरेको पाइन्छ । त्यसैले दसैँको इतिहास हिंसा र अहिंसाका बिचको द्वन्द्वका रूपमा रहेको पाइन्छ । लिम्बू मुन्धुम मिथकका आधारमा जमरा र टीका लगाउने परम्परा भने जनजातीय परम्पराबाट आएको पाइन्छ । कतिपय जनजातिले रातो र सेतो टीका लगाउँछन भने कतिपयले सेतो टीका मात्र लगाउँछन् तर बाहुन क्षेत्रीले रातो र अवस्था विशेषमा पहेँलो टीका लगाउने प्रचलन छ । पहिला रक्तसम्बन्धमा विवाह गर्ने चलन थियो तर यम र यमीले भने दिदीभाइको सम्बन्ध बनाउने सहमति गरी तिहार मनाउने प्रचलनको विकास भएको हो । अझै पनि केही जातजातिमा मामाचेलो फुपूचेली विवाहको चलन रहेकै छ । नेवारी संस्कृतिमा महः पूजा गर्ने अर्थात् देहपूजा गर्ने परम्परा छ । यसरी विभिन्न जातीय संस्कृति मिसिएकाले चाडबाडको यो समयलाई शरदीय उत्सव भनिएको छ । त्यसैगरी सूर्यपूजाको संस्कृति भारतबाटै आएको भए पनि छठ पर्वको रूपमा मनाइरहिएको छ । यसै शरद उत्सवभित्र इदसमेत समेटिएको छ । दसैँभित्रका विकृतिका पक्षमा भने गम्भीर बहस गर्ने र आवश्यक सुधार गर्नुपर्ने आवश्यकता रहेको पाइन्छ भन्ने धारणा राख्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.डा.कृष्णबहादुर थापाले साहित्य सन्ध्याको यति लामो समयदेखिको अविच्छिन्नता नै आपूmलाई ज्यादै अनुकरणीय लागेको भन्नुहुँदै संस्कारमा विविधता हुन्छ, जन्मदेखि मृत्युसम्मका र अझ जन्मभन्दा अगाडिका संस्कार हुन्छन् । समयक्रममा तिनै संस्कारहरू संस्कृतिमा रूपान्तरण हुन्छन् । संस्कार जहिले पनि समाजसापेक्ष हुन्छ । नेपालको समाज मिश्रित भएकाले केस्रा केस्रामा केलाउँदा संस्कारमा पनि पृथकता छ र अचेल जातजातिका संस्कारलाई एकताबद्ध पार्नेभन्दा विभाजन गर्ने प्रवृत्ति मौलाउनखोजेको पाइन्छ । विभिन्न संस्कारका मानिसको समूह एक ठाउँमा बसेपछि एकअर्कामा प्रभाव पर्दै जान्छ । नेपालीको सभ्यता र संस्कारमा अरूबाट लिने तर आफ्नै प्रकारले मनाउने प्रवृत्ति पाइन्छ । हिन्दुहरू, बुद्धका अनुयायीहरू पनि एकअर्काको प्रभावमै विकसित भइरहेका छन् । साधारण जनजीवनमा सबैको लवाइखुवाइ एकै प्रकारको पाइन्छ, थोरै थोरै पृथकता मात्रै हो । त्यसैकारण हाम्रा संस्कार संस्कृतिले हामीलाई एकताबद्ध पार्नसकेका हुन् । हाम्रा संस्कार र संस्कृतिको असल पक्ष भनेकै एउटाले अर्काेलाई हस्तक्षेप नगर्नु हो । जनता मात्र होइन हाम्रो सत्तासमेत धर्मनिरपेक्ष नै रहेको पाइन्छ जब कि अहिले पनि बेलायतमा राजतन्त्र प्रोटेस्टेन्ट नै हुनुपर्छ, त्यो कट्टरता बाँकी नै छ । संस्कार र संस्कृतिमा धर्मले प्रभाव पारेको चाहिँ हुन्छ । खासरूपमा संस्कार र संस्कृतिको निर्माणमा हिमाल तथा तराईका बिचको मध्य भागको बढी भूमिका रहेको पाइन्छ । संस्कार र संस्कृतिमा पनि समयसापेक्ष परिवर्तन आवश्यक हुन्छ नै । जन्मिदा होस् वा मर्दा आफ्ना संस्कार गर्नै पर्दछ र गर्छ पनि मानिस । संस्कारलाई जसले लिपिबद्ध गरेको छ ती संस्कृति बन्छन्, नगर्नेले संस्कारै मात्र धानेका छन् । लवाइको संस्कृति पनि समयानुसार छिटो छिटो परिवर्तन भइरहेको छ । केही केही पक्षमा ढिलो चाँडो होला तर संस्कार र संस्कृतिमा पनि रूपान्तरण हुन्छ नै । हाम्रा शास्त्रहरू जति निर्मित छन् ती वैज्ञानिक छैनन् किनभने त्यो समय तार्किक चाहिँ थियो तर वैज्ञानिक थिएन । समयले फड्को मारिसकेको हुँदा अवैज्ञानिक संस्कार र संस्कृतिमा रूपान्तरण आवश्यक छ तर परिवर्तन एकाएक हुँदैन । सिङ्गो समाजलाई तर्कले मात्र चित्त बुझाउन सकिँदैन र जबरजस्तीले पनि हुँदैन । मान्छे सम्पूणरूपमा संस्कारविहीन हुँदैन र नै संस्कारको अवलम्बन गर्दछ । आत्माले स्वीकार गरेको आस्था र समाजको प्रचलन फरक पर्ने कारणले पनि रूपान्तरणमा समस्या देखा पर्छ, परेको छ । त्यसैले यो विषयमा गम्भीर छलफल र बहस आवश्यक छ, समूह निर्माण गरी विद्यमान संस्कारमा रूपान्तरणको प्रयत्न गरिनु र अरूको लागि उदाहरण पेस गर्नु आजको आवश्यकता रहेको छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज नजिकिएका नेपाली मात्रका चाडहरू दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद लगायतका संस्कार र तिनमा रूपान्तरणको आवश्यकता विषयमा बहस गर्नु सान्दर्भिक ठानेर यो विशेष समारोहको आयोजना गरेका हौँ । प्रमुख अतिथि प्रा.डा.कृष्णबहादुर थापा आइदिनुभयो, प्राज्ञ विष्णु प्रभात आइदिनुभयो र बहसको थालनी गरिदिनुभयो । त्यसैगरी निमन्त्रणा स्वीकार गरी यहाँहरू सबै आइदिनुभयो, सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु र अर्काे सन्ध्यामा फेरि कुनै समसामयिक विषयमा बहस गरिने नै छ भन्नुभयो अनि सभाविसर्जन गर्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)