सोमवार, भदौ ४, २०७५ 20 August 2018

२०७४ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान आनन्दराम पौडेललाई

          |   प्रकाशित मितिः शनिबार, साउन १९, २०७५     ::: 198 पटक पढिएको   |  

२०४२ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ यस वर्ष प्रगतिवादी साहित्यकार, स्तम्भकार एवम् सामाजिक रूपान्तरण अभियानका प्रखर अभियन्ता आनन्दराम पौडेललाई प्रदान गरिने भएको छ । तिस वर्ष निजामति सेवामा सेवा गरी पूर्व प्रशासकसमेत रहेका पौडेल साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा कलम चलाउने र समसामयिक विषयमा व्यङ्ग्यार्थ सम्प्रेषण गर्ने प्रखर एवम् क्रियाशील स्रष्टा हुन् । राज्यसत्ताले मुलुक र जनताका पक्षमा काम गर्नुपर्दछ र समग्र विकृति र विसङ्गतिको अन्त्य गरिनुपर्दछ भन्ने मान्यताका साथ निर्भीकतापूर्वक कलम चलाउने पौडेल मूलतः कवि हुन् त्यसपछि लघु कथाकार, व्यङ्ग्यकार र निबन्धकार हुन् । वि.सं.२०१२ साउन ४ गते मकवानपुर जिल्लाको नामटारमा आमा चन्द्रकुमारी र बुबा पं.टीकाप्रसाद उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका पौडेल विगत चार दशकदेखि नेपाली प्रगतिवादी साहित्यको साधनामा क्रियाशील रहेका छन् । उनको यो अविच्छिन्न क्रियाशीलताका लागि २०७४ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गरिने भएको छ । यो रु.१५,०००।– (पन्द्र हजार) राशिको सम्मान तथा पुरस्कार यही २०७५ भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा प्रदान गरिने छ । साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट सम्मानित हुने उनी पैँतिसौँ स्रष्टा हुन् ।

त्यसैगरी साहित्य सन्ध्याको हरेक महिनाको शृङ्खलामा प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या–हरिप्रिया हरि मासिक नियात्रा पुरस्कार’ प्राप्त गरिसक्नुभएका श्री राम विनय, श्री बलराम अधिकारी, प्राज्ञ श्री नर्मदेश्वरी सत्याल, श्री देवकी के.सी., श्री अच्युत घिमिरे तथा डा.सावित्रीलाई पनि सोही दिन सम्मानपत्र प्रदान गरिने छ ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)