बुधबार, पुस ४, २०७५ 19 December 2018

साहित्य सन्ध्यामा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयक परिचर्चा एवम् विशेष कविगोष्ठी सम्पन्न

          |   प्रकाशित मितिः शनिबार, असार २, २०७५     ::: 319 पटक पढिएको   |  

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ
मिति: २०७५।३।२

साहित्य सन्ध्याको नियमित मासिक ३८५ औँ शृङ्खला असार २ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा परिचर्चा गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् वरिष्ठ सञ्चारकर्मी रघुजी पन्त हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रा.डा.पारसमणि भण्डारी, डा.पुष्करराज भट्ट, नेकपा केन्द्रीय लेखा आयोग सदस्य गोपाल बराल, वरिष्ठ कवि वासुदेव अधिकारी, वरिष्ठ कवि उमेश उपाध्याय, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, नियात्राकार पोषरमण चापागाईँ उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि रघुजी पन्तले साहित्य सन्ध्याले ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयक अत्यन्त समसामयिक विषयमा बहसको प्रारम्भ गरेको र यस विषयमा बहसका लागि आपूmलाई अवसर दिएकोमा धन्यवाद दिँदै पञ्चायती निरङ्कुश कालमा प्रकाशनका अवसर कम थिए तर प्रतिक्रियावादविरोधी स्रष्टा धेर भएकाले रचना पनि छानेर प्रकाशन गर्ने अवसर थियो अनि सिर्जनाको गुणस्तर पनि राम्रो रहेको थियो किनभने तत्कालीन अवस्थामा सरकारी सञ्चार गोरखापत्रले प्रगतिशील साहित्यलाई स्थान नदिने भएका कारण अवसरको कमी र प्रगतिशील रचना प्रकाशन गर्ने सीमित पत्रिकाका लागि दबाब थियो । साहित्यको कविता विधा भनेको त्यस्तो विधा हो जसले पाठकलाई दरिलो झन्झनाहट प्रदान गर्नुपर्दछ, चिमोट्नुपर्दछ, उत्तेजित बनाउनुपर्दछ र त्यस्ता कविताको सही र वस्तुपरक समालोचना पनि हुनुपर्दछ । यस्ताखालका समालोचकको कमी हामीकहाँ अझै रहेको छ । उदहारणका लागि भीमनिधि तिवारीको गद्यलेखन र कवितालेखनकै पनि यथोचित समालोचना हुनसकेको पाइँदैन । सबै विचारका स्रष्टाका बिचमा बहस गर्ने वा फरक विचारका स्रष्टाका सिर्जनाको वस्तुपरक समालोचना गर्ने प्रवृत्तिको विकास गर्नु जरुरी छ । विगतमा पठनसंस्कृति जब्बर थियो, बहस व्यापक हुन्थ्यो अहिले त्यो पक्ष कमजोर भएको छ । लेखनमा नयाँ विम्बप्रयोग गर्ने र राम्रा सिर्जना गर्ने हो भने चाहिँ प्रकाशनको समस्या अहिले रहेको छैन । अहिले विकसित भएको विद्युतीय सञ्चारको मञ्च नयाँ हो तर यो पर्याप्त छ । कागजविहीन कार्यालयको परिकल्पना गर्नलागिए जस्तै कागज विहीन विद्युतीय माध्यमको प्रयोग गरेर स्रष्टाका राम्रा सिर्जना सम्प्रेषण गर्नसकिन्छ र यो अहिलेको राम्रो अवसर हो । त्यसैगरी विकसित मुलुकमा विद्युतीय सञ्चार माध्यमले विकृति पनि ल्याएको छ । हामी प्रगतिशील स्रष्टाले पनि विचारसहितका कलात्मक र सुन्दर सिर्जना विद्युतीय सञ्चारमाध्यमको प्रयोगका माध्यमबाट सम्प्रेषण गर्नुपर्दछ । अहिले लेखकको चेतनासरह वा सोभन्दा पनि बढी पाठकको चेतना विकसित भइसकेको छ र स्रष्टाको सिर्जनाउपर प्रतिक्रिया व्यक्त हुने गरेको पाइन्छ । आजको युगमा समाजका आवश्यकता र रुचिका कुरा हाम्रा सिर्जनाले दिनसकेनन् भने सिर्जनाको आकर्षण घट्छ । नेपालको राजनीतिमा वाम विचारले नेतृत्व गरे जस्तै विचारयुक्त सिर्जना मूल धारकै पत्रिकाले पनि प्रकाशित गरिरहेका छन् र बहस पनि चलिरहेकै छ तर बहसको गहिराइ भने कमजोर रहेको छ । प्रविधिको बढी प्रयोगको वा भनौँ थोरबहुत दुरुपयोगको कारण पनि हुनसक्छ पठनसंस्कृति कमजोर भएको छ, वैचारिकता र संस्कार फितलो भएको छ र यो शुद्धीकरणको नेतृत्व चाहिँ साहित्यले गर्नसक्तछ । १९९० को सोभियत सङ्घको पतनको घटनापछि विचार समाप्त भयो भन्नेहरू अहिले सफ्ट पावर (साहित्य, सङ्गीत, कला, संस्कृति)को प्रयोग गरिरहेका छन् । हाम्रो देशमा हुर्काई पढाई गरेको हाम्रो सन्तान युरोप पुग्नु मुलुक र उसको परिवारसमेतको नोक्सान हो किनभने ऊ फर्केर आउँदैन बरु खाडी मुलुकमा गएको भए पैसा कमाएर परिवारलाई पनि पठाउँथ्यो र ऊ पनि फर्केर आउँथ्यो । हाम्रा जनशक्ति बाहिरिएका कारण गाउँ गाउँमा भारतीय मजदुर पुगेका छन् । यी यथार्थपरक विषयमा, यस्ता समस्याको निराकरणका विषयमा साहित्यसिर्जना गरिनुपर्दछ अनि मात्र परिवर्तन गर्नसकिन्छ । नयाँ पुस्तालाई जोड्ने र तिनैलाई केन्द्रमा राखेर सिर्जना गरिनुपर्दछ, त्यसो भएमा सञ्चार माध्यममा सजिलै स्थान प्राप्त हुनसक्दछ । अहिले त राम्रो सिर्जनाले स्थान पाउने मात्र होइन विद्युतीय सञ्चारमा सम्प्रेषण गरेर आयआर्जनसमेत गर्नसकिन्छ । अहिले साक्षरता बढेको छ र पुस्तक विक्री भएर लेखकले रोयल्टी पनि बढी पाउने गरेका छन् । विदेशी परिवर्तनशील, क्रान्तिकारी पाठ्यसामग्रीको सहज प्राप्यता भने घटेको छ । वर्तमान बुझ्न इतिहास पढनुपर्ने र भविष्य बनाउन वर्तमान नै पढ्नुपर्ने आवश्यकता हुन्छ । इतिहासलाई पनि नयाँ ढङ्गले र सकारात्मकरूपले अध्ययन र विश्लेषण गरिनुपर्दछ । यस्ता बहसका विषय प्रकाशनका लागि पनि सञ्चारका माध्यम उपलब्ध छन् । अहिले वामपन्थीले आपूmलाई सशक्तढङ्गले उभ्याएको अवस्था हो, बाइपास गर्न कसैले सक्तैन तर बलियो गरी उभिनका लागि हामीले विचार, संस्कार, कला, संस्कृति, चेतना निर्माण गर्नुपर्दछ । नयाँ कुरा ग्रहण गर्न समय लाग्छ र त्यसका लागि बहस आवश्यक हुन्छ र मात्र समयको नेतृत्व गर्नसकिन्छ भन्ने अत्यन्त सुन्दर धारणा राख्नुभयो ।

समारोहमा नारायणप्रसाद निरौलाद्वारा लिखित ‘आमाको माया’ लघु कथासङ्ग्रहको लोकार्पण प्रमुख अतिथि रघुजी पन्तले गर्नुभएको थियो र उक्त कृतिमाथि लघु कथामै विद्यावारिधि गर्नुभएका पुष्करराज भट्टले समीक्षा गर्दै लघु कथा परम्परामा यो कृति थपिएको छ भन्नुहुँदै साठीको दशकपछिको नेपाली समाज र हुर्किएका विकृति–विसङ्गति, शिक्षाक्षेत्रसँग सम्बन्धित विषय, ग्रामीण समाजको असचेतताका कारण शिक्षकले भोग्नुपरेको हेलाँहोचो, वैदेशिक रोजगारीका पीडा र पारिवारिक असन्तुलन तथा सम्बन्धविच्छेद, स्वास्थ्यक्षेत्र कमाउधन्दा बनेको लगायतका नेपाली समाजका समसामयिक यथार्थलाई कथाका विषयवस्तु बनाइएको छ । विज्ञानको सन्दर्भका माध्यमबाट समाज निर्माण गर्नुपर्ने; मुलुकमा देखिएको जातीय, क्षेत्रीय, लैङ्गिक समस्याले योग्य मान्छे पछि पर्ने समस्या उजागर गरिएको छ । कथामा समाजका यथार्थपरक विसङ्गतिलाई उजागर गरिएको भए पनि रूपान्तरणको वैचारिक आग्रह भने कमजोर देखा पर्दछ । धेरै कथाहरू लघु कथाको मानकअनुसार पनि रहेका पाइँदैनन् । कृति प्रकाशनपूर्व परिचर्चा गर्ने पद्धतिको विकास गर्ने हो भने यस्ता समस्याको निराकरण गर्नसकिन्छ । लघु कथा फरक झट्का दिएर टुङ्गिनुपर्दछ भन्ने पक्षमा भावी दिनमा कथाकारको ध्यान जानु आवश्यक छ । भाषिक पक्षमा पनि सचेत हुनु आवश्यक छ तापनि लेखेकको पहिलो प्रयास सकारात्मक रहेकोले बधाई छ भन्नुभयो ।
गोष्ठीमा मुकुन्द न्यौपाने, डम्बर पहाडी, रामचन्द्र दाहाल, कात्यायन, निर्भीक राई, गोविन्द नेपाल, नारायण निरौला, देबु लुइटेल, बैरागी जेठा, उमेश उपाध्याय, रचना दाहाल, उज्ज्वल उजागर गौतम, रिता खत्री, गोपाल बराल, अच्युत घिमिरे, वासुदेव अधिकारी, गोविन्द घिमिरे वेदमणि, जयन्ती स्पन्दन, गणेश घिमिरे ‘मार्मिक’, तारा गाउँले, कमल जङ्गली(वाचन गोपाल बराल), गोपाल नेपाल, निश्चल केशवराज, निरज राना, रामचन्द्र खतिवडा र गोमा कटुवालले आआप्mना कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।

वाचित कविता, गीत तथा गजलमाथि प्रा.डा.पारसमणि भण्डारीले समीक्षा गर्नुहुँदै आजको गोष्ठीमा वाचित सिर्जना साहित्य सन्ध्याका सम्पत्ति हुन् । एकपटक सुनेकै आधारमा गरिने टिप्पणी प्रभावपरक हुने भए पनि कलामूल्यका हिसाबले सबै कविता बन्नसकेका छैनन्, टुक्कालाई कविताको फाँकीमा जोडेर निर्माण गरिएका कविता पनि वाचन भएका, निराशाका अभिव्यक्ति पनि कवितामा आएका, कतिपय कविता कलाका हिसाबले मध्यम तर विचार र विषयको उठान राम्रो भएका, कतिपय कवितामा परिष्कारको आवश्यकता रहेको, कवितामा समृद्ध नेपालको सपना अभिव्यक्त भएको, नेपालप्रतिको सद्भाव अभिव्यक्त भएको, केही कवितामा पत्रात्मक शैलीको पनि प्रयोग गरिएकोले वाचित कवितामा शैलीको विविधता रहेको, कवितामा व्यङ्ग्यचेतना प्रबल रहेको, देशप्रमको भावना जागृत रहेको देखिएको धारणा राख्नुभयो । त्यसैगरी अहिलेको कवितालेखन चलायमान छ, अपेक्षा बढी छन् र नै आक्रोश बढी छ त्यसैले कविताको क्षमता चाहिँ कमजोर बनिरहेको छ । निरन्तरको साधनाबाट गुणात्मक परिवर्तन आउने हो र आओस् । साहित्य सन्ध्याको यो कार्यक्रम प्रशिक्षण पनि हो तर सर्जकमा पनि जिम्मेवारी सार्ने र पर्खेर हेर्ने प्रवृत्ति हुर्केका कारण पनि सिर्जना कमजोर भइरहेको पक्षलाई स्रष्टाले गम्भीरतापूर्वक मनन गर्नुपर्दछ भन्नुभयो ।

यस गोष्ठीमा यो महिनाको नियमित मासिक नियात्रापुरस्कार अच्युत घिमिरेलाई प्रदान गरियो र उक्त रु.एक हजार राशिको पुरस्कार नियात्राकार एवम् पुरस्कार अक्षेयकोष संस्थापक पोषरमण चापागाईँ, गोपाल बराल र अध्यक्ष राम विनयले संयुक्तरूपमा प्रदान गर्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले उपस्थित प्रमुख अतिथि, अतिथिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै अहिलेको समसामयिक विषयमा आज हामीले बहसको प्रारम्भ गर्यौँ । स्रष्टा सदैव प्रतिपक्षी हुन्छ भनिन्छ तर स्रष्टाले सकारात्मक र नकारात्मक खुट्याउनसक्नुपर्दछ र समाजरूपान्तरणका पक्षमा कलम चलाउनुपर्दछ । सरकारले समृद्ध नेपालको कुरा गरिरहेको छ तर समृद्धि कसको र कुन वर्गको भन्ने स्पष्टोक्ति भने आवश्यक छ, यसमा स्रष्टा सजग हुनु र सिर्जनागर्नु आवश्यक छ भन्नुभयो । साथै अर्काे महिनामा कुनै यस्तै विषयमा बहस गरिने र निमन्त्रणा गरिने जानकारीसमेत दिनुभयो ।
उपाध्यक्ष

Please follow and like us:


Do you like our contents? Please spread the word :)