मङ्लबार, अशोज ३०, २०७५ 16 October 2018

साहित्य सन्ध्यामा ‘संस्कृतिमा वैज्ञानिकीकरण’ चर्चा तथा कविगोष्ठी सम्पन्न

          |   प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५     ::: 168 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं

२०७५।०६।०६


साहित्य सन्ध्याको नियमित मासिक ३८८ औँ शृङ्खला यसपटक असोज ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा ‘संस्कृतिमा वैज्ञानिकीकरण चर्चा तथा कविगोष्ठी’ गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् दार्शनिक प्राज्ञ विष्णु प्रभात हुनुहुन्थ्यो भने अतिथिका रूपमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, डा.हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.खेम दाहाल, नर्मदेश्वरी सत्याल, अनिल पौडेल, नियात्राकार पोष चापागाईँ, रामबहादुर पहाडी, ललित बस्नेत ‘भिमाली’ र ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेय उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि प्राज्ञ विष्णु प्रभातले ‘संस्कृतिमा वैज्ञानिकीकरण’ विषयमा विस्तृतरूपमा प्रकाश पार्नुहुँदै संस्कृतिको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा गर्नुपर्ने, नेपाली परिवेशमा मूलतः दर्शनको आडमा संस्कृतिको चर्चा गर्ने गरिएको, प्रकृतिपूजक चिन्तन विन, मोन, बोन हुँदै किराती र गैरकिराती जातिको संस्कृतिले प्रकृतिको आराधना गर्ने गरेको पाइन्छ र यो सांस्कृतिक परम्परा अहिले पनि कतिपय जातिमा कायम रहेको पाइन्छ किनभने संस्कृतिमा हुने रूपान्तरण निकै ढिलो हुने गर्दछ । त्यसैगरी देवीपूजक÷मातृत्वपूजक चिन्तन पनि हाम्रो समाजमा संस्कृतिकै रूपमा विद्यमान छ र यसमा पनि कतिपय विकृतिहरू रहेका छन् । त्यसैगरी शैव संस्कृति भारतको असामदेखि नेपालको हिमाली र मध्य पहाडी भूभाग (हिमवत् खण्ड)सम्म रहेको छ । उपनिषद् कालमा यम र यमी दाजुबहिनी भएकाले रक्तसम्बन्धमा विवाह नहोस्, असल परम्पराको थालनी होस् भन्नानिमित्त गरिएको व्यवहारलाई पनि विकृत पार्दै गलत अर्थ लगाउने गरिएको छ । संस्कृतिमा वैज्ञानिकताको खोजी गर्दा वस्तुपरक विश्लेषण आवश्यक हुन्छ । ब्रह्म संस्कृतिमा म, ज्ञान, अन्नलाई प्रमुखता दिने चलन नै नेपाली दर्शन हो । यज्ञवल्क्यद्वारा प्रतिपादित यस दर्शनमा ईश्वरवादी दर्शन घुसाएर हिन्दु दर्शन भन्न थालियो र दृष्टिकोणलाई अल्मल्याउने काम गरियो । सबै दर्शनलाई अध्ययन गर्दा ज्ञानको द्वन्द्वात्मकता सबै कालमा रहेको पाइन्छ । रोहिणी नदीको पानी मावली पक्षको पनि र शाक्यराज्यको पनि बराबर हक लाग्ने हुनुपर्छ भन्ने बुद्धको विचारमा द्वन्द्व हुँदा देशघाती कुरा गरे भन्ने आरोप बुद्धले खेपे र उनले बरु देश त्याग गरे तर बुद्ध दर्शनको ठिकढङ्गले अध्ययन चाहिँ हुनसकेन । वास्तवमा बुद्ध पनि शैव दर्शनबाट प्रभावित छन् र बहुजनहितायको वकालत गरेका छन् । हामी सबैले दृष्टिकोणमा वैज्ञानिकीकरण नगर्दासम्म संस्कृतिमा वैज्ञानिकीकरण हुनसक्तैन । आर्य र अनार्यका बिचको द्वन्द्वमा पार्वतीले शिवलाई रोजेर अन्तरजातीय विवाहको परम्पराको थालनी गरेकी हुन् । हरि भनेका विष्णु र हर भनेका शिव हुन् । त्यसैले हरतालिका हुनुपर्नेमा हामीले हरितालिका भन्ने प्रचलनमा ल्याएका छौँ । यस्ता सबै खाले विकृति र विसङ्गतिको अन्त्यका लागि सही अनुसन्धान गर्ने, सही नीतिनिर्माण गर्ने र कार्यान्वयनमा ल्याउनसकिएको खण्डमा मात्र सांस्कृतिक रूपान्तरण हुनसक्छ । यो जटिल र गम्भीर विषय हो । संस्कृतिका नकारात्मक अवशेष लामो समयसम्मै रहिरहन्छन् । संस्कृतिका सानादेखि ठुलासम्मका कुराको अन्तरघुलन हुँदै संस्कृति रूपान्तरण हुदै जान्छ तर यसमा रूपान्तरण गर्दै जानु आवश्यक छ । राज्यका तहबाट नीतिनिर्माण गरी कार्यान्वयन हुँदा रूपान्तरण बाध्यकारी हुनजान्छ र छिटो हुन्छ तर व्यक्तिका तहबाट भने स्वेच्छाले काम गर्ने हुँदा रूपान्तरण ढिलो हुन्छ भन्नेसमेतको विशद चर्चा गर्नुभयो ।
नियात्राकार पोषरमण चापागाईँले आफ्ना दिवङ्गत बुबाआमाको सम्झना र सम्मानमा रु.एक लाखको अक्षयकोष राखी साहित्य सन्ध्याको मासिक शृङ्खलामा प्राप्त हुने नियात्रामध्ये उत्कृष्ट एक जनालाई रु.१,०००।– पुरस्कार र सम्मानपत्र प्रदान गर्ने उद्देश्यका साथ नियात्रासाहित्यको उत्थानमा आपूm लागेको हुँदा यस क्षेत्रमा लेख्न रुचि राख्ने साहित्यकारले यसका सिद्धान्तको पनि अध्ययन गरेर, ध्यान राखेर लेख्नुभयो भने नियात्रा साहित्यको समृद्धि हुने हुँदा कलम चलाउन आग्रह गर्नुभयो ।
साहित्यकार शान्ता मानवीले मान्छेले बनाएका संस्कार नै संस्कृतिम परिणत भएका छन् । सम्पूर्णमा एकैपटक रूपान्तरण हुन पनि सक्दैन र रूपान्तरणका लागि आफैँबाट सुधार गर्नुपर्दछ । त्यसका लागि चेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक छ किनभने समस्या एक्लै उब्जिदैनन् । धर्म र संस्कृति अलग कुरा हुन् तर एकै ठाउँमा राखेर हेर्ने हाम्रो दृष्टिकोण नै बेठिक छ । समग्र अन्धविश्वासको अन्तका लागि पाठ्यक्रममै व्यवस्था गर्नु बढी उचित हुन्छ भन्ने विचार राख्नुभयो ।
गोष्ठीमा रामबहादुर पहाडी, अमृता स्मृति, चूडा निर्भीक, मुकुन्द न्यौपाने, ऋषिराम अर्याल, अनिल पौडेल, डिल्लीराज अर्याल, ललित बस्नेत ‘भिमाली’, बैरागी जेठा, ख्यालमान राई, नर्मदेश्वरी सत्याल, प्रशान्त खरेल, जयन्ती स्पन्दन, यदुनाथ वसन्तपुरे, गोविन्द नेपाल, डा.गोविन्दप्रसाद आचार्य, ई.सन्तोष पोखरेल, रामदेव पाण्डेय, जगत् उपाध्याय ‘प्रेक्षित’, कृष्णदेव रिमाल, मिसन अधिकारी, नन्दु उप्रेती, रुद्र अधिकारी, निर्मल पराजुली, प्रलिशा अधिकारी, डा.खेम दाहाल, जयन्ता पोखरेल, कृतिका आचार्य, बालकृष्ण उप्रेती, पार्वती ज्ञवाली र आन्ता मानवीले आआफ्ना कविता, गीत, गजल, मुक्तक बाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि टिप्पणी गर्दै डा.हेमनाथ पौडेलले राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण बरु त्यति असहज हुँदोरहेनछ तर सांस्कृतिक रूपान्तरण अलि बढी नै कठिन कुरा हो । आजका कविताले पनि यो पक्षलाई उदघाटित गरेका छन् । समाजको गतिशील यथार्थलाई साहित्यले उजागर गर्ने र रूपान्तरणको सन्देश सम्प्रेषण गर्नुपर्दछ । स्रष्टाको दृष्टिकोण स्पष्ट भएन भने कविता पनि सशक्त बन्दैन र अर्थ सम्प्रेषण पनि हुँदैन । स्रष्टाले समाजका विकृतिलाई हस्तक्षेप गर्नुपर्दछ र मात्र नयाँ चेतना सम्प्रेषण गर्नसकिन्छ । नेपाली प्रगतिवादी कविता समकालीन धाराका कविताभन्दा कमजोर छैनन् । मैले विद्यावारिधिको सिलसिलामा ३०० ओटा कवितासङ्ग्रहको अध्ययन विश्लेषण गरेँ र त्यसैका आधारमा प्रगतिशील÷प्रगतिवादी कविता कमजोर छैनन् भन्ने निष्कर्ष निकालेँ । आजको यो गोष्ठीमा वाचित कविताले पनि समसामयिक युगजनीन यथार्थलाई सुन्दरताका साथ उजागर गरेका छन् । कविताले विम्ब र प्रतीकको भाषामा सम्प्रेषण गर्नुपर्दछ, सुन्दर कलाका माध्यमबाट सुन्दर विचारलाई सम्प्रेषण गर्नसकिएन भने चाहिँ कविता सुन्दर हुनसक्तैन । आज वाचित केही कविता सपाट वर्णन भएका पनि छन् तिनमा भने परिमार्जन आवश्यक छ । विभिन्न शैलीका कविता आएका छन्, विचारका हिसाबले कविताहरू प्रगतिशील छन् । विचार सुन्दर छन् । यस हिसाबले आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले उपस्थित प्रमुख अतिथि, अतिथिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै आआफ्ना क्षेत्रका विद्वान व्यक्तित्वका बिचमा आज हामीले गम्भीर विमर्श गर्यौँ । सामाजिक रूपान्तरण चुनौतीको कुरा हो तापनि यसको थालनी हामी सबै सबैले आपैmँले गरेनौँ भने सामाजिक रूपान्तरण सम्भव छैन । त्यसैले पनि यो चर्चाका लागि अत्यन्त गम्भीर विषय हो भन्ने ठानेर आज यो समारोहको आयोजना गर्यौँ । यहाँहरू आइदिनुभयो म हार्दिक हार्दिक आभार व्यक्त गर्दछु । अर्काे कार्यक्रम दसैँको बिचमा पर्ने भएकाले नहुने र हाम्रो अर्काे भेट मङ्सिरमा हुने छ र त्यसका लागि हामी खबर गर्ने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)