सोमवार, भदौ ४, २०७५ 20 August 2018

साहित्य सन्ध्यामा ‘नेपाली समाजमा वर्ग सङ्क्रमण’ विषयक परिचर्चा

          |   प्रकाशित मितिः आइतवार, साउन ६, २०७५     ::: 32 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३८६ औँ शृङ्खला यसपटक साउन ५ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस प्रदर्शनीमार्गमा ‘नेपाली समाजमा वर्ग सङ्क्रमण’ विषयक परिचर्चा, नियात्रासङ्ग्रह ‘झझल्को’माथि समीक्षात्मक टिप्पणी एवम् विशेष कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे हुनुहुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्राज्ञ विष्णु प्रभात, वरिष्ठ कवि एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता उमेश उपाध्याय, डा.भागवत आचार्य उपस्थित हुनुहुन्थ्यो ।

वरिष्ठ कवि एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता उमेश उपाध्यायले ‘नेपाली समाजमा वर्ग सङ्क्रमण’ विषयमा पावर प्वाइन्टबाट विशद परिचर्चा गर्नुहुँदै असमानता र विभेद संसारकै बहसको ठुलो एजेन्डा बनेको छ र वर्गविश्लेषणको परम्परा पनि फरक फरक रहेको छ । जुनसुकै सरकार शासनसत्तामा आए पनि अन्ततः वर्ग उपेक्षित रहेको छ । वर्गको कुरा कम्युनिस्टहरूले गर्ने तर विश्लेषणको परम्परा भने पुरानो रहेको, वर्गलाई उपेक्षा गरिएका कारण रूपान्तरण तीव्ररूपमा नभएको अवस्था विद्यमान रहेको देखिन्छ । बेलायतका चारवटा विश्वविद्यालयले संयुक्तरूपमा गरेको न्चभबत द्यचष्तष्कज ऋबिकक क्गचखभथ का अनुसार अनिश्चित रोजगारीको सर्वहारा वर्ग १५%, ३४ वर्षमुनिका सहरी युवा र अल्पसङ्ख्यक जनजाति, ६० वर्ष नाघेका राम्रो आर्थिक अवस्थाका श्रमिक १४%, पुँजीवाला युवा श्रमिकहरू, कमजोर समाािजक हैसियतका तर सम्पन्न प्राविधिक मध्यम वर्ग, सम्पन्न र उच्च सामाजिक हैसियतका स्थापित मध्यम वर्ग र जनसङ्ख्याको जम्मा ६% मात्रै सन्भ्रान्त वर्ग देखिएको र क्रमशः सन्भ्रान्त वर्गको विस्तारै न्यूनीकरण भइरहेको अध्ययनले देखाएको छ । त्यसैगरी उत्तर अमेरिकी वर्गविश्लेषणअनुसार श्रमिक वर्ग, निम्न मध्यम वर्ग, परम्परागत मध्यम वर्ग, मध्यम वर्ग, उच्च मध्यम वर्ग र उच्च सन्भ्रान्त वर्गमा सम्पत्ति, आम्दानी, सामाजिक–सांस्कृतिक आधार लिएर विश्लेषण गरिएको पाइन्छ । नेपालको सन्दर्भमा भने जमिन्दार क्रमशः क्षयशील भइरहेका, धनी किसान, मध्यम वर्ग, ग्रामीण व्यवसायी, कृषिश्रमिक, सिपमा आधारित श्रमिक र तलवजीवी वर्ग छन् भन्ने विश्लेषण गरिएको छ । सहरी समाजमा हेर्दा ठुला व्यवसायी घराना, तस्कर पुँजीपतिहरू, साना र मध्यमस्तरका उद्यमीहरू एउटा समूहमा पर्दछन् भने अर्काे समूहमा अनुत्पादक तर सम्पन्न जमिनदारहरू, बौद्धिक उच्चघरानाका ठुलो पारिश्रमिक ग्रहण गर्नेहरू देखा पर्दछन् । त्यसैगरी श्रमिकका क्षेत्रमा सुकिलामुकिला काम गर्ने श्रमिकहरू, सिपयुक्त दक्ष र अदक्ष अनौपचारिक क्षेत्रका श्रमिकहरू अनि सडकमा घुमेर श्रम गर्ने, सामान बेच्ने श्रमिक वर्ग देखा पर्दछन् ।
यो दृष्टान्तलाई अलि व्यापकतामा हेर्दा कार्ल माक्र्सले बुर्जुवा र सर्वहारा दुइटा वर्ग छुट्याए । हामीले हेर्दा भने सामन्त वर्ग, व्यवसायी वर्ग, श्रमिक वर्ग भनेर वर्गीकरण गर्नसक्छौँ । वि.सं.२००४ सालदेखि नेपालमा व्यापारिक वर्ग सुरु भयो र त्यही समयदेखि श्रमिक वर्ग पनि सुरु भयो । सामन्त वर्गको रूपमा उद्योगपति देखिए । त्यो निरङ्कुश वेलामा पनि भूमिगतरूपमा श्रमिक वर्ग सङ्गठित हुनथाल्यो । हुँदै हुँदै २०३६ सालमा पञ्चायती कालमै पनि मजदुरसँग सौदावाजीको वार्ता भयो । यो आन्दोलनमा विद्यार्थीको बढी भूमिका र श्रमिकको कम भूमिका रहेको थियो भने छयालिस र बैसठ्ठीको आन्दोलनमा श्रमिकको भूमिका अहम् रह्यो । श्रमिक वर्ग राजनीतिक दलसँग नजिक रह्यो । समाजमा वर्गको सङ्क्रमण हुने र तलमाथि हने अवस्था रहिरहन्छ । भूमि, श्रम, पुँजी, ज्ञान, यातायात जस्ता विभिन्न कारणले वर्गसङ्क्रमण हुन्छ । समयक्रममा जुनसुकै क्षेत्रमा पनि मान्छे सङ्गठित हुनथाले, समाजमा पेसाव्यवसायका धेरै विकल्प देखा पर्नथाले र वर्गको सङ्क्रमण र रूपान्तरण हुनथाल्यो । सामन्त वर्गको क्षयीकरण भएर राज्यमाथि श्रमिकको वर्चस्व हुनथाल्यो, त्यसैगरी व्यवसायी वर्ग बढेर उसको पनि राज्यमा पहुँच बढ्नथाल्यो तर उसको मानसिकता भने सामन्ती नै रहेको देखिन्छ । अहिले व्यवसायी वर्ग महत्वाकाङ्क्षी हुँदै संयुक्त लगानीतर्फ र ठुलो लगानीतर्फ अभिप्रेरित हुँदै गएको पाइन्छ । त्यसैगरी श्रमिक वर्ग पनि छिटो छिटो परिवर्तित भइरहेको छ । अनौपचारिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या ठुलो रहेको छ । कारखानाले पनि झन्झट नहोस् भनेर मजदुरलाई अनौपचारिकीकरण वा ठेक्काप्रथातर्फ मोड्ने गरेका छन् । राज्यका सबै आन्दोलनहरूमा मजदुरको भूमिका उल्लेख्य बढेको र राजनीतिक दलले पनि मजदुरलाई उपयोग गर्ने गरेको देखिन्छ तर संरक्षणका पक्षमा भने राज्यसत्ता धेरै उदार नभएर व्यवसायीतिर ढल्केको पाइन्छ । त्यसैले मजदुरहरू अपेक्षित प्रतिफलबाट वञ्चित रहेका छन् । समाजमा वर्गसङ्क्रमण हुनुको कारणमा राजनैतिक चेतना बढेको, ग्रामीण समाजमा समेत शक्तिसमीकरण भएको, वैदेशिक रोजगारीमा ५६ प्रतिशत युवा पलायन भएकाले आर्थिक गतिविधि बढेको, तर भित्रिएको आयको सदुपयोग नभई उपभोक्तवाद हौसिएको, मान्छेमा छिटो आम्दानी गर्ने सोच बढेको, जमिनको उत्पादनशीलता बढाउनुपर्छ, वैज्ञानिक खेतीप्रणाली अवलम्बन गरिनुपर्दछ भन्ने चेतना बढेको, कृषि र निर्माणका क्षेत्रमा ठुलो सङ्ख्यामा मजदुर रहेका र ज्यालामा समेत बढोत्तरी भएको, स्वरोजगारी प्रवद्र्धन पनि भएको, राज्यका कल्याणकारी कार्यक्रमले पनि आर्थिक अवस्थामा सहयोग पुर्याएका समेतका कारणले मध्यम वर्ग अहिले सबैभन्दा बढी सङ्क्रमणको केन्द्रमा रहेको छ । सेवाक्षेत्र फैलँदो अवस्थामा रहेको, सहरीकरण तीव्र भएको, उच्च वर्गका १०% जनता वार्षिक रु.२,१५,५५३।– खर्च गर्दछन् भने सबैभन्दा निम्न वर्गका १०% जनता वार्षिक रु.१९,०४८।– खर्च गर्दछन् तर बिचका मध्यम वर्गका १०% जनताले वार्षिक रु.५०,०४८।– खर्च गर्दछन् । यसरी निम्न वर्ग क्रमशः मध्यम वर्गतिरको सङ्क्रमणमा रहेको देखिन्छ भने उच्च वर्ग घट्दै गएको अवस्थामा देखिन्छ । निम्न वर्गको यो यात्राको अवस्थालाई राज्यले पनि सहजीकरण गर्दै लानु आजको आवश्यकता हो भन्नेसमेतको विशद् चर्चा गर्नुभयो ।

प्रमुख अतिथि डा. विष्णुविभु घिमिरेले साहित्य सन्ध्याका अध्यक्ष राम विनय बेलायत र अमेरिका भमणमागएर फर्केपछि लिखित ‘झझल्को’ नियात्रासङ्ग्रह लेख्नुभएको, उहााले आपूm त्यहाँ घुम्दा देखेका र भोगेका कुराहरूलाई जीवन्तरूपमा उतार्ने कार्य गर्नुभएको, अनि त्यहाँका कुराहरू हेरिसकेपछि हाम्रो देशसँग तुलना गर्नुभएको छ, एकोहोरो लेखन मात्र छैन । ताना शर्माको बेलायत यात्रा पढेपछि मैले राम विनयको नियात्रा पढेँ । उहााको आफ्नै मौलिक, छेट्टिएको र फरक स्वभाव छ । उहाँको यो नियात्रा पढ्दा म पनि उहाँ सँगसागै हिँडेको अनुभूति हुन्छ, यही नै लेखकको सफलता हो । कृतिलाई एकपटक पढिसकेपछि कतै आपूmलाई बढी छोएर वा कतै पढ्नुपर्ने लागेर यदि दोहोर्याएर पढ्न मन लाग्यो भने र पढियो भने त्यो सफल कृतिहो । मलाई राम विनयको कृति त्यस्तै लागेको छ । यो कृति पढ्दा कतै बिझाउँदैन किनभने लेखकले तटस्थ भएर लेखेका कारण कृति प्रभावपरक, प्रवाहपरक र शक्तिशाली बनेको छ । लेखकले ‘म नजान्नेमा जान्ने मात्र हुँ मभन्दा जान्ने असल पाठक बाहिर छन्’ भन्ने ठानेर लेख्यो भने त्यो लेखक पनि सफल हुन्छ र कृति पनि राम्रो हुन्छ, पठनीय हुन्छ । मैले त्यही कुरा राम विनयको नियात्रासङ्ग्रहमा पाएको छु ।

आजको यो विशेष समारोहमा मेरा मित्र विद्वान उमेश उपाध्यायले अत्यन्त समसामयिक विषयमा ज्यादै विशद तर अत्यन्त सरल ढङ्गले महत्त्वपूर्ण प्रस्तुति दिनुभएको छ । यस्ता महत्त्वपूर्ण पक्षलाई, विषयलाई राज्यले कायान्वयनको तहमा लैजाने हो भने मुलुकको कायापलट हुनसक्छ । यो साहित्य सन्ध्यामा म पहिले पनि आएको छु । साढे तीन दशक लामो यात्रा तय गरिसकेको यो संस्थामा आएर आफ्नो कविता नसुनाउने अहिलेका पुस्ताका कुनै स्रष्टा छैनन् तर अहिले प्रविधिको विकास भएको र लोकतन्त्रको स्थापनापछि अभिव्यक्तिका क्षेत्र विस्तार भएकाले अन्यत्र मो८िए पनि यो संस्थाको अविच्छिन्नरूपमा गरेको योगदान अविस्मरणीय छ । म उत्तरोत्तर प्रगतिको काममना गर्दछु भन्नुभयो ।

प्राज्ञ विष्णु प्रभातले साउन महिनाको यो हप्ता सामन्तवादका विरुद्ध प्रगतिशील चिन्तन राख्ने विश्वेस्वरप्रसाद कोइराला र नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व पुष्पलाललाई सम्झने अवसर हो । निरङ्कुशताका विरुद्धमा विपीले उठाएको विचार तत्समयको प्रगतिशील कदम हो । उनले साहित्यमा अराजकतावादी भन्नुको अर्थ पनि सामन्ती चन्तनधाराको साहित्यलेखनको विकल्प प्रस्तुत गर्दाको अवस्था हो किनभने उनको लेखनमा यथार्थवाद चित्रण भएको छ । त्यसपछि गोपालप्रसाद रिमालले ल्याएको चिन्तनधाराले नेपाली समाजको अध्ययन र विश्लेषण गर्ने वैकल्पिक धु्रवको वैचारिकता उजागर गरेको पाइन्छ । विवेचना र विश्लेषणको पाटोबाट सदैव सम्झनुपर्ने व्यक्तित्व चाहिँ पुष्पलाल हुन् । समाजवादी चिन्तनधाराका माध्यमबाट नेपाली समाजको अध्ययन र विश्लेषण गर्ने वैकल्पिक ध्रुवको वैचारिकता उनले प्रस्तुत गरेका छन् । नेपाली सबै एक हौँ त्यसैले जात, पात, धर्म, लिङ्ग आदि कुनै कुरामा विभक्त हुनुहुँदैन भन्ने स्पष्ट वैचारिकताका साथ उनले जात लेख्नछाडेका थिए । वामपन्थी भन्नेले नै जातिवादी अराजकता हुर्काएका कारण पुष्पलालको त्यो वैचारिकतालाई स्खलित गराएका छन् । समालोचकीय र दार्शनिकताका दृष्टिकोणबाट पुष्पलालले अतुलनीय योगदान गरेका छन् । त्यसैले यो महिनामा साहित्य, विचार र दर्शनका कोणबाट यी दुई व्यक्तित्वलाई सम्झनुपर्दछ भन्नुभयो ।

गोष्ठीमा मुकुन्द न्यौपाने, कात्यायन, डिल्लीराज अर्याल, नारायण निरौला, भारद्वाज मित्र, ललित बस्नेत ‘भिमाली’, जयन्ती स्पन्दन, गोपाल बराल, पार्वती ज्ञवाली, अनिता लामा, नन्दु उप्रेती, कृतिका आचार्य, रचना दाहाल, रिता खत्री, भावना न्यौपाने, रमेश गौतम ‘पाल्पाली’, कृष्णप्रसाद न्यौपाने, गोविन्द नेपाल, प्रशान्त खरेल र गोपालकुमार मैनालीले आआप्mना कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।

वाचित कविता, गीत तथा गजलमाथि डा.भागवत आचार्यले समीक्षा गर्नुहुँदै आजको गोष्ठीमा वाचित सिर्जना गुणात्मक रहेका, शिल्पका दृष्टिले पनि उच्च र मध्यम रहेका, अनि विषयका हिसाबले युगीन समसामयिक विषयका रहेका छन् । कवितामा विसङ्गति र विकृतिका प्रति प्रहार गरिएको छ र परिवर्तनका आकाङ्क्षा कवितामा व्यक्त भएका छन् । शासनसत्ता जनताको हातमा आएपछि पनि समृद्धिका प्रयत्न भने आफैँले गर्नुपर्छ भन्ने यथार्थलाई पनि कविताले छोएका छन् र यो ठिक पनि छ । हाम्रो समाज परमुखापेक्षी भइरहेको छ भन्ने यथार्थलाई कविताले उजागर गर्दै रूपान्तरणको आग्रह गरेको पाइन्छ । हाम्रा अबका सिर्जनाहरू मुलुकको उद्यमशीलता कमजोर भएको पक्षमा पनि केन्द्रित हुनुपर्दछ र घच्घच्याउनुपर्दछ भन्नुहुँदै समग्रमा सबै कविता अग्रगतिका पक्षका रहेकाले गोष्ठी सार्थक रहेको धारणा व्यक्त गर्नुभयो ।
यस गोष्ठीमा यो महिनाको नियमित मासिक नियात्रापुरस्कार डा.सावित्री श्रेष्ठलाई प्रदान गरियो र उक्त रु.एक हजार राशिको पुरस्कार प्रमुख अतिथि उपकुलपति डा.विष्णुविभु घिमिरे र अध्यक्ष राम विनयले संयुक्तरूपमा प्रदान गर्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले उपस्थित प्रमुख अतिथि, अतिथिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै अहिलेको समसामयिक विषयमा आज हामीले बहसको प्रारम्भ गर्यौँ । स्रष्टा सदैव प्रतिपक्षी हुन्छ भनिन्छ तर स्रष्टाले सकारात्मक र नकारात्मक खुट्याउनसक्नुपर्दछ र समाजरूपान्तरणका पक्षमा कलम चलाउनुपर्दछ । समाजमा वर्ग सङ्क्रमण तीव्ररूपमा भइरहेको छ तर त्यसका बारेका कारण हामीलाई जानकारी छैन । यस्तो गम्भीर विषय पनि बहसको विषय बन्नुपर्छ भन्ने हामीलाई लाग्यो र बहसका लागि विज्ञ उमेश उपाध्यायलाई आग्रह गर्यौँ । उहाँले सारै सुन्दर, सरल तर गहन प्रस्तुति दिनुभयो । मेरो नियात्रासङ्ग्रह पढिदिएर उपकुलपतिज्यूले निकै गम्भीर टिप्पणी गरिदिनुभयो, मलाई हौसला प्रदान गरिदिनुभयो म हार्दिक आभार व्यक्त गर्दछु । कविहरू सबैलाई र कवितामाथि टिप्पणी गरिदिनुहुने डा.भागवत आचार्यलाई हार्दिक धन्यवाद दिनचाहन्छु भन्नुहुँदै अर्काे महिनामा कुनै यस्तै विषयमा बहस गरिने र निमन्त्रणा गरिने जानकारीसमेत दिनुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)