बिहिबार, बैशाख १२, २०७६ 25 April 2019

साहित्य सन्ध्यामा ‘नेपाली कवितामा नारी चेतना’ परिचर्चा तथा कविगोष्ठी सम्पन्न

          |   प्रकाशित मितिः आइतवार, मंसिर २, २०७५     ::: 278 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३८९ औँ शृङ्खला मङ्सिर १ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘नेपाली कवितामा नारी चेतना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका पूर्व सल्लाहकार तथा पूर्वमन्त्री शान्ता मानवीको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको संयोजन तथा सञ्चालन जयन्ती स्पन्दनले गर्नुभएको थियो । समारोहका अतिथिहरूमा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्राज्ञ सुलोचना मानन्धर, समालोचक डा.विन्दु शर्मा, प्राज्ञ नर्मदेश्वरी सत्याल, नियात्राकार पोष चापागाईँ, वरिष्ठ गजलकार रामबहादुर पहाडी, वरिष्ठ कवि कणाद महर्षि, कवि जयन्ता पोखरेल, प्रा.डा.खेम दाहाल, डम्बर घिमिरे, डिल्लीराज अर्याल उपस्थित हुनुहुन्थ्यो ।

‘नेपाली कवितामा नारी चेतना’ विषयमा विशद् चर्चा गर्नुहुँदै डा.विन्दु शर्माले मानवीय प्राकृतिक स्वभावले पनि विभेद निम्त्याउने गरेको पाइन्छ तापनि नारी उत्पीडनको जड चाहिँ पुरुष नै हो भन्ने चेतना कवितामा नारी चेतनाका रूपमा आएका छन् । नारीविरोधी चरित्रका कविता पनि अहिले आएका छन् तर यसको अर्थ पुरुषको विरोध चाहिँ होइन । पतिसरहको स्वतन्त्रताको खोजी नारीसिर्जित नेपाली कवितामा गरिएको छ । नारीको नामसमेत पतिले राखिदिने, महिलालाई उपकार गरिदिएको ठान्ने प्रवृत्तिका विरुद्धमा पनि कविता आएका छन् । सम्पत्तिमाथिको समान हकको खोजी, लैङ्गिक समानताको आग्रह, आश्वान दिने तर व्यवहारमा नउतार्ने विभेद नै कायम राखिराख्ने प्रवृत्ति कवितामा उजागर गरिएको छ । नारीमा राजनीतिक चेतना बोध गराउने र नारीविभेदको अन्त्य राजनीतिक प्रयत्नले मात्र हुनसक्छ भन्ने चेतनाको सम्प्रेषण पनि कवितामा गरिएको छ । पुरुषसरह महिलापहुँचको आवश्यकताको आग्रह पनि कवितामा गरिएको पाइन्छ । सामाजिक–सांस्कृतिक आडमा हुने विभेद, विधवा नारीले भोगेका समस्या, देउकी, झुमा, कुमारी आदि रुढिहरूको प्रकटीकरण र रूपान्तरणको चाहना पनि कवितामा अभिव्यक्त भएको पाइन्छ । अवोध महिलालाई बोक्सीको आरोप लगाउने प्रवृत्ति, अनेक प्रकारका उत्पीडन र बलात्कारका कारण आपूmलाई जोगाउन नारीले भोग्नुपरेको अवस्थाको सशक्त चित्रण पनि कवितामा भएको पाइन्छ । श्रमिक नारीका जीवनका जटिलताको प्रस्तुति, यौनकर्मी नारीका पीडा र शोषणका अभिव्यक्ति पनि कवितामा उजागर गरिएको पाइन्छ । अन्य उत्पीडन र शोषणका नितान्त निजी कुरा पनि सशक्तरूपमा कवितामा आएका छन् । नारीको निकट सहयात्री पुरुष भएकाले पुरुषका कवितामा पनि नारीसमस्या र चेतना सशक्तरूपमै तर सहानुभूतिका तहमा आएका छन् । वर्गीय चेतना र वैचारिकता ग्रहण गरी लेखिएका कवितामा भने समानताको पक्षमा नै वकालत गरिएको पाइन्छ भन्ने धारणा राख्नुभयो ।
बालकवि प्रलिशा अधिकारीको कवितावाचनबाट थालनी गरिएको गोष्ठीमा लक्ष्मी मिश्र, पार्वती ज्ञवाली, माधव प्रधान, रमेश गौतम ‘पाल्पाली’, ओमप्रसाद कोइराला, लक्ष्मी माली, कणाद महर्षि मुकुन्द न्यौपाने, बालकृष्ण सुवेदी, गायत्री लम्साल, पोष चापागाईँ, दिनेश मैनाली, भाग्यशाली अधिकारी, गौरी दाहाल, रामबहादुर पहाडी, नारायण भण्डारी जनकपुरी, डिल्लीप्रसाद मुल्तिउन, नर्मदेश्वरी सत्याल, उर्मिला पन्त पाण्डेय, जय गौडेल, सुलोचना मानन्धर, देबु लुइटेल, अनिता लामा, गोपाल नेपाल, नन्दु उप्रेती, पदम कार्की, डम्बर घिमिरे, कात्यायन, पदम मुनारी बादिङ, डा.खेम दाहाल, शरण राई, बैरागी जेठा, मिसन अधिकारी, होमशंकर बास्तोला, राम विनय, मुकुन्द ढकाल र जयन्ती स्पन्दनले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
गोष्ठीमा वाचित रचनामाथि टिप्पणी गर्दै कवि जयन्ता पोखरेलले वाचित अधिकांश कविता नारीचेतनाले युक्त रहेका छन् । विषयवस्तु, वैचारिकता र शिल्पका हिसाबले निकैवटा कविता सुन्दर रहेका छन् । महिला स्रष्टाले अरूका सिर्जना अध्ययन नगर्ने र भौतिकतामा अल्मलिएका कारणले महिलाका कविता केही कमजोर रहेका पाइन्छन् तर आजका धेरै कविताले राम्रो प्रभाव छाडेका छन् । केही कविताले यथार्थताको चित्रण गरेका छने भने केही कवितामा विद्रोही चेतना पनि अभिव्यक्त भएको पाइन्छ । विभेदका पर्खाल भत्काउनुपर्ने आग्रह कवितामा गरिएको छ । केही कविताले गायनका कोणबाट उत्कृष्टता प्रस्तुत गरेका छन् । सामाजिक रूपान्तरणका लागि पनि हाम्रा सिर्जनामा नारीचेतना प्रस्तुत हुनु आवश्यक छ तर आजका कविताले उठाएका विषयवस्तु समसामयिक रहेका छन्, गोष्ठी उपलब्धिमूलक रहेको छ ।
समारोहकी अध्यक्ष शान्ता मानवीले पितृसत्तात्मक संस्कार पुरुषमा मात्र होइन महिलामा पनि छ । यस्तो रुढि हट्न भने अझै पनि समय लाग्छ । आज वाचित कविताहरूमा समानताका पक्षमा वकालत गरिएका छन्, कविताले आक्रोश अभिव्यक्त गरेका छन्, सुधारको आबाज उठाएका छन् । हुन पनि पुरुष र महिलामा प्रकृतिले विभेद त गरेको छैन नि । सम्पूर्ण चेतना सम्प्रेषण हुन र समाज पूर्ण रूपान्तरण हुन चाहिँ समय लाग्छ । यस्ता राम्रा बहस चलाइरहनु आवश्यक छ, साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु, यो अविरल बगिरहोस् भन्नुभयो र गोष्ठीको समापन गर्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)