बिहिबार, बैशाख ६, २०७५ 19 April 2018

साहित्य सन्ध्यामा ‘गजलको चर्चासहित कविगोष्ठी’ सम्पन्न

          |   प्रकाशित मितिः आइतवार, चैत्र ४, २०७४     ::: 70 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाण्डाै

साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला चैत्र ३ गते शनिबार अपराह्न १ बजे आर.आर क्याम्पस प्रदर्शनी मार्गमा “गजलको चर्चासहित कविगोष्ठी” सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा माननीय सानु पहाडी, माननीय खेम नेपाली, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्रा.डा.यादबप्रकाश लामिछाने, गजलकार ललिजन रावल, गजलकार मधु पोखरेल, डा.विदुर चालिसे, वरिष्ठ कवि एवम् सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि कणाद महर्षि, वरिष्ठ साहित्यकार रविमान लम्जेल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार सुनिल पौड्याल, कवि तारा गाउँले, साहित्यकार डम्बर पहाडी उपस्थित हुनुहुन्थ्यो ।

प्रवासमा रहेर पनि नेपाली साहित्यको साधनामा समर्पित साहित्यकार इन्द्रबहादुर राई र स्वदेशमै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा समर्पित पीताम्बर भण्डारीको हालै देहावसान भएकाले उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरी थालनी भएको उक्त विशेष गोष्ठीमा गजलकार ललिजन रावलले गजलको सैद्धान्तिक पक्ष तथा वर्तमानको गजलकारिताका बारेमा प्रकाश पार्दै २०३९ देखि ४२ सालसम्म साहित्य सन्ध्यामा म नियमित थिएँ र गजललेखनमा केन्द्रित थिएँ । आज यही संस्थामा गजलकै विषयमा चर्चाका लागि उभिनपाउँदा गोरवबोध भएको छ । त्यो समयमा पूर्वमा गोविन्द विकल र मधु पोखरेल गजलसाधनामा हुनुहुन्थ्यो । गजल प्राविधिक विषय हो तर गायन मात्र चाहिँ गजल होइन, जे लेख्यो त्यही गजल हुँदैन । वर्तमानमा आएर गजल विधा लोकप्रिय भएको छ र नव प्रवेशीको साहित्यमा छिर्ने विधा गजल भएको छ त्यसैले यो विधा स्थापित हुँदै छ । मोतीरामको गजललाई सेतुरामले गाएर गजल लेखन परम्पराको थालनी भएको हाम्रो इतिहासमा अहिले त गजल पाठ्यक्रममै राखिएको छ । गजलमा बहर र काफिया मिलेको हुनुपर्दछ, काफियाविना गजल हुँदैन । त्यसैले गजल लेख्दा सैद्धान्तिक ज्ञानका साथ लेखिनुपर्दछ । प्रेमका लागि, पीडा अभिव्यक्तिका लागि, सामाजिक रूपान्तरणका लागि गजल लेखिन्छ । गजल गेय विधा हो । चालिसको दशकपछिका गजलहरू राजनीतिक–सामाजिक रूपान्तरणका लागि लेखिनथालेका छन् तर अझै व्यापकरूपमा सामाजिकीकरण र सांस्कृतिकीकरण गरिनु आवश्यक छ । शिष्टता, शालीनता, हार्दिकता र कलात्मकतालाई ध्यान दिनु आवश्यक छ किनभने गजल अभिव्यक्तिको कौशल पनि हो । दुई पङ्क्तिको एक सेर हुने गजल अरबी भाषाको शब्द हो भने गायन फारसीबाट आएको हो । गजल मुस्नसल र गैरमुस्नसल हुन्छ । गैरमुस्नसलमा प्रत्येक सेर आफैँमा पूर्ण हुन्छ भने मुस्नसलमा एकअर्काका बिच सम्बन्ध हुन्छ । त्यसैले गजललाई सावधानीका साथ सैद्धान्तिक ज्ञानका साथ लेखिनुपर्दछ भन्नुभयो ।

गोष्ठीमा मधु पोखरेल, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, डा.खेम दाहाल, गोपाल नेपाल, रामचन्द्र खतिवडा, डा.विदुर चालिसे, ललिता दोषी, गङ्गा कमाचार्य, अच्युत घिमिरे, अमृता स्मृति, चूडा निर्भीक, सानु पहाडी, डम्बर पहाडी, टी.एन.भट्ट, कणाद महर्षि, ढुण्रिाज पोखरेल, नानी भारद्वाज, प्रदीपरत्न शाक्य, मोहन सङ्ग्राम, रामबहादुर पहाडी, होमराज श्रेष्ठ, रचना दाहाल, तारा गाउँले, सुनिल पौड्याल, ऋचा, केशवराज निश्चल, खेम नेपाली, रविमान लम्जेल, ललिजन रावल र राम विनयले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष एवम् समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेले चर्चा गर्नुहुँदै कवितासिर्जना कविको कर्म हो । कविको सिर्जनालाई एकपटक सुनेका आधारमा समीक्षा गर्दा कहिलेकाहीँ न्याय नहुन पनि सक्छ तर आज वाचित रचनाले आजको युगको यथार्थलाई उजागर गरेका छन् । चाकडी–चाप्लुसीको प्रवृत्तिलाई उजागर गरेका छन्, भूकम्पले ल्याएको पीडाको अभिव्यक्ति छ र राहत नपाउनुका प्रति व्यङ्ग्य प्रहार गरेका छन्, गाउँ र ग्रामीण जनताका प्रतिको सम्मानका कविता आएका छन्, वर्तमानमा विचार कम ऊर्जावान् भएकाले सिर्जनामा पनि त्यसको प्रभाव परेको पक्ष आएको छ, अँध्यारोको विरोध र शान्तिको चाहना अभिव्यक्त भएको छ, माटाको महत्तागान गाइएको छ, स्वाभिमानको वकालत गरिएको छ, वर्तमान यथार्थको उजागर गर्दै त्यसभित्रका विकृतिका प्रति व्यङ्ग्य गरिएको छ, यो पुण्यभूमिको महत्तागान गाइएको छ, समसामयिकताको सूत्रात्मक अभिव्यक्ति आएको छ, छिमेकीको हेपाहा प्रवृत्तिको विरोधका स्वर आएका छन्, सँगसँगै वैचारिक स्खलन रोक्नुपर्ने सन्देशसमेत सम्प्रेषण गरिएको छ भन्नुभयो र हामी सबैको वैचारिक आन्दोलनको प्राप्ति गणतन्त्रमा हाम्रा सपना साकार हुनसकेका छैनन् तापनि आशावादी जीवनदृष्टि आवश्यक छ । अबका सिर्जनाले हामी कस्तो समाजवाद चाहन्छौँ भन्ने खुट्याउनसक्नुपर्दछ भन्ने विचारसमेत राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज भने हामीले गजलका बारेमा चर्चा गर्नु उपयुक्त ठान्यौँ र यसै विषयमा आफ्नो अध्ययन अनुसन्धान केन्द्रित गरिरहनुभएका वरिष्ठ गजलकार ललिजन रावललाई अनुरोध गर्यौँ । उहाँ आइदिनुभयो र विशद चर्चा पनि गरिदिनुभयो । प्रा.डा.यादबप्रकाश लामिछाने आइदिनुभयो र वाचित सम्पूर्ण रचनामाथि सूक्ष्म विश्लेषणसहित समीक्षा गरिदिनुभयो । अतिथिहरू आइदिनुभयो, यहाँहरू सबै आइदिनुभयो, सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु । हामी स्रष्टाको काम भनेकै खबरदारी गर्ने हो त्यसैले हामी स्रष्टाले अहिले देखिएका सबै खाले समस्याका प्रति सिर्जनाका माध्यमबाट खबरदारी गरिरहनुपर्दछ भन्ने उद्देश्य साहित्य सन्ध्याको हो । अब अर्काे सन्ध्यामा फेरि कुनै समसामयिक विषयमा बहस गरिने नै छ भन्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)