सोमवार, पुस ३, २०७४ 18 December 2017

साहित्य सन्ध्यामा कार्लमाक्र्स चर्चा तथा कविगोष्ठी

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ ७, २०७४     ::: 835 पटक पढिएको   |  

साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खला जेठ ६ गते शनिबार अपराह्न १ बजे आर आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा एमाले उपमहासचिव घनश्याम भुसाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहअरूमा समालोचक विष्णुप्रसाद ज्ञवाली, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ साहित्यकारहरू आनन्दराम पौडेल र कणाद महिर्ष, प्रखर कवि एवम् प्रगतिशील लेखक सङ्घ नेपालका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, नियात्राकार पोषरमण चापागाईँ, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, प्रा.डा.खेम दाहाल उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका सल्लाहकार, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् प्राज्ञ प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’का आदरणीय पिता ज्यो.पं.हरिप्रसाद उपाध्यायको ९० वर्षको उमेरमा जेठ ५ गते दैलेखमा देहावसान भएको दुखद खबरले मर्माहत बनाएको र यो विपत्तिपूर्ण घडीमा प्रा.उपाध्याय तथा उहाँका शोकाकुल परवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत बुबाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरियो र शोकप्रस्ताव पारित गरियो ।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथि घनश्याम भुसालले ‘कार्लमाक्र्स, माक्र्सवाद र यसको सान्दर्भिकता’ विषयमा विशद चर्चा गर्नुभएको थियो । उहाँले साहित्य सन्ध्या भनेको माधवी उपन्यासको पात्र गालब जस्तो अविच्छिन्न र निरन्तर चलिरहेको संस्था हो भन्नुहुँदै यसले नेपाली साहित्यको उत्थानमा पुर्याएको योगदानका प्रति सराहना व्यक्त गर्नुभयो । कार्लमाक्र्सको दुई शतवार्षिकीको सन्दर्भ पारेर साहित्य सन्ध्याले यस्तो बौद्धिक बहसको कार्यक्रम चलाउनु नै अत्यन्त सान्दर्भिक रहेको छ भन्नुभयो । गहिरिएर विश्लेषण गर्ने हो भने माक्र्सवादले संसारका धेरै कुरामा ठुलो योगदान गरेको छ । माक्र्सले तत्कालीन युरोपका धेरै कुराको अध्ययन विश्लेषण गरेर २७ वर्षकै उमेरमा ‘थेसिस अन फायरवाक’ लेखे । त्यही नोटमा समाज के हो ? इतिहास के हो ? धर्म के हो ? मोक्ष के हो ? जस्ता यावत प्रश्नहरूको गहन उत्तर दिएका छन् । उनले इतिहासको वैज्ञानिक आधार खोज्ने काम गरेका छन् त्यसै गरी समाजशास्त्रको, अर्थशास्त्रको वैज्ञानिक आधार खोज्ने कार्य गरेका छन् । माक्र्सको समय भनेको पुँजीवादभरिको समय हो, समाजवादसम्मको र साम्यवादसम्मको पनि समय हो । माक्र्सवादले पुँजीवादको उल्लेख गर्दा मनुष्यत्वको, मानवउत्पत्तिदेखि विकाससम्मको, श्रमसँगको सम्बन्धको चर्चा गरेका छन् । उनले स्पष्ट भनेका छन्, ‘कुनै पनि कुराको प्रारम्भ प्रकृतिसँग जोडिएको हुन्छ । प्रकृति र श्रमको एकाकार भएर मात्र पुँजी निर्माण हुन्छ त्यसैले उत्पादनबाट श्रम अलग गर्नुहुन्न ।’ यही नै माक्र्सवादको मूल दर्शन हो । संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य हो र यसमा पनि माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी छ भन्ने कुरालाई विद्वानहरूले नै स्वीकार गरेका छन् । माक्र्स भन्छन्, ‘मनुष्य इतिहासमाथि बस्छ र इतिहासको निर्माण गर्छ ।’ उनले भनेका छन्, ‘हेगेललाई समग्रमा कसैले बुझेनन् । नेपालको सन्दर्भमा भन्दा आफ्नो समयमा समाजको गहिराइ बुझ्ने पुष्पलाल हुन् । समाज सङ्गठित हुदै आयो, ब्युरोक्रेटिक हुँदै गयो र माक्र्सवादको गहिराइमा अध्ययन नै हुन सकेन । अहिले हाम्रो बौद्धिकतामा ह्रास आएको छ, दलाल पुँजीवाद हाबी भइरहेको छ तर पनि माक्र्सवादले समाजका सबै खाले विचार र विशेषज्ञतालाई जोड्ने काम गर्दछ । जबसम्म श्रम रहिरहन्छ तबसम्म माक्र्सवादको औचित्य पनि कहिल्यै समाप्त हुँदैन, यो संसारमै सर्वव्यापी भइरहन्छ भन्ने धारणा राख्नुभयो ।

गेष्ठीमा अतृप्त पाण्डेय, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, पोषरमण चापागाईँ, कणाद महर्षि, गोपाल नेपाल, नवराज श्रेष्ठ, रचना दाहाल, बलराम विष्ट, आनन्दराम पौडेल, पुण्य गौतम ‘विश्वास’, कुशुम शर्मा, केशवराज अर्याल, अभ्यस्त यात्री, राम विनय, नारायण निरासी, रूपक अलङ्कार र डा.खेम दाहालले आआफ्ना कविता, गजल वाचन गर्नुभयो ।

वाचित कवितामाथि समालोचक विष्णुप्रसाद ज्ञवालीले टिप्पणी गर्नुहुँदै गोष्ठीमा विचारसहितका र विचाररहित गरी दुई खालका कविता वाचन भएका, विचाररहित कविताले कहिलेकाहीँ स्रोतामाझ प्रभाव पार्न त सक्छन् तर रूपान्तरणको सन्देश भने दिन सक्तैनन् । कविता भनेको वस्तु, समाज र भावको संयोग हो तर सौन्दर्यविहीनता उपयुक्त हुन्न । वाचित कवितामा विसङ्गतिबोध तिख्खर छ तर भविष्यबोध अलि कमजोर रहेको पाइन्छ । कविले बाँचेको युगचेतना, वैयक्तिकता, युगबोध र भविष्यबोध कवितामा आउनु जरुरी छ । बोधगम्यता पनि त्यत्तिकै आवश्यक छ । सङ्घर्षको निरन्तरता, व्यङ्ग्यमा लक्ष्यभेदन हुनु जरुरी छ । गजलमा प्रेमको सट्टामा विसङ्गति र व्यङ्ग्य, सामाजिक यथार्थ आउन थाल्नु राम्रो पक्ष हो र यसमा भविष्यबोध पनि बोलौँ । कविताहरूमा सामाजिक समस्याको उठान गरिएको पाइन्छ, क्रमिकता र परिमार्जनले परिपक्वतातर्फ लैजान्छ नै, वैचारिकताका पक्षमा भने ध्यान पुर्याउनै पर्छ भन्ने धारणा राख्नुभयो ।

प्रखर नियात्राकार पोषरमण चापागाईँले साहित्य सन्ध्यामा उपस्थित हुने साहित्यकारका लागि अर्को सन्ध्यादेखि जो कसैले एउटा नियात्रा लेखेर ल्याउने र सन्ध्यामा बुझाउने, प्राप्त भएमध्येबाट एउटा उत्कृष्टलाई हरेक महिना रु.१,०००।– (एक हजार) राशि पुरस्कार दिने, विस्तारै अक्षय कोषको समेत व्यवस्था गर्ने जानकारी दिनुभयो । यो सराहनीय व्यवस्थाका लागि उहाँलाई हार्दिक धन्यवाद व्यक्त गरियो ।

अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एउटा कार्यशाला हो । यो अविच्छिन्न रूपमा चलिरहेको छ । हरेक महिना कुनै न कुनै समसामयिक विषयमा परिचर्चा गर्ने र कविगोष्ठी गर्ने कार्य यसले गरिरहेको छ । आज हामीले आफ्नो विचारले संस्सारलाई हल्लाइदिने र विचारकै माध्यमबाट अमर बनेका कार्लमाक्र्सको विचार र आजको सन्दर्भमा यसको औचित्यका बारेमा बहस चलाउने उद्देश्यका साथ विद्वान घनश्याम भुसालज्यूलाई आग्रह गर्यौँ, उहाँ आइदिनुभयो र विशद चर्चा गरिदिनुभयो । उहाँलगायत उपस्थित सबैलाई हार्दिक धन्यवाद छ भन्नुहुँदै अर्काे शृङ्खलामा कुनै विशेष बहसका साथ उपस्थित हुने जानकारीसहित गोष्ठीको समापन गर्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)