बिहिबार, साउन १२, २०७४ 27 July 2017

वरिष्ठ प्रगतिवादी कवि ‘उमेश उपाध्याय’को एकल कवितावाचन सम्पन्न

          |   प्रकाशित मितिः शनिबार, असार १०, २०७४     ::: 119 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं

असार ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ३८ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि उमेश उपाध्यायका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गरियो । जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले अध्यक्षता गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । भाषाविद् प्रा.डा.माधवप्र
साद पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कविहरू वासुदेव अधिकारी, जगन्नाथ आचार्य र अनिल पौडेल, डा.लेखप्रसाद निरौला, भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा.कृष्णप्रसाद पाखरेल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानकी कार्यक्रम संयोजक पार्वती रिजाल, श्रमिक आन्दोलनका अगुवा कवीन्द्रशेखर रिमाल, महासङ्घका सचिव कृपाराम धमलालगायत उपस्थित हुनुहुन्थ्यो ।

हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको अड्तिसौँैँ शृङ्खला सञ्चालन गर्न लागिएको, साहित्य सिर्जना एवम् सामाजिक रूपान्तरणको अभियानका माध्यमबाट योगदान गरिरहनु भएका वरिष्ठ प्रगतिवादी कवि उमेश उपाध्यायका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारी रमेश पोखरेलले दिनुभयो । यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिन गरिएको अनुरोध स्वीकार गरी आइदिनुभएका विख्यात भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेललाई सभाध्यक्ष राम विनयले स्वागत गर्नुभयो र कविनायक उमेश उपाध्यायलाई माल्यार्पण गरी सम्मान गर्नुभयो अनि प्रमुख अतिथिले समारोहका कविनायक उमेश उपाध्यायलाई सम्मान– पत्र अर्पण गरी सम्मान गर्नुभयो । त्यसैगरी कविलाई साथ दिने कविहरू डा.टङ्क उप्रेती, भागवत आचार्य, यशोदा अधिकारी र ज्योति जङ्गल अनि टिप्पणीकारका रूपमा समालोचक आर.एम.डङ्गोललाई आसन ग्रहण गराइयो ।
समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि उमेश उपाध्यायको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै जनसाहित्यिक मञ्च नेपाल, काव्य विभाग प्रमुख डा.विन्दु शर्माले कवि उमेश उपाध्याय वि.सं.२०१४ सालमा झापामा जन्मिनुभएको र २०३१ सालदेखि कवितालेखनमा सक्रिय रहनुभएको देखिन्छ । ‘आस्थाको सगरमाथा’ २०४४, ‘यसपटकको रावण’ २०६२ र ‘शाही तबेलाका बुढा घोडाहरू’ २०७२ गरी तीनओटा कवितासङ्ग्रह अनि ‘कालान्तरमा फेरि’ शीर्षकको उपन्यास प्रकाशित भएका, आत्मालाप शैलीको शिल्पविधानमा प्रभावकारी विम्ब प्रयोगका माध्यमबाट अर्थसम्प्रेषण गर्नसक्नु कवि उमेश उपाध्यायको विशेषता रहेको देखिन्छ । सिर्जनामा निरङ्कुशताको सशक्त विरोध, परिवर्तनको पक्षधरता, क्रान्तिकारी अभिव्यक्ति, वस्तुतथ्यलाई जनपक्षीय पार्ने बौद्धिक शिल्प भएका कवि उपाध्यायका श्रम र अर्थ राजनीतिसँग सम्बन्धित दर्जनौँ प्रकाशन रहेका छन् भन्नुभयो ।

कविनायक उमेश उपाध्यायले आफूले सिर्जना गरिरहेका कवितामाथि विश्वास गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिनुभएकोमा आयोजकलाई धन्यवाद दिन्छु भन्नुभयो । अग्रज र विद्वान व्यक्तित्वका माझमा कविता सुनाउन पाएकोमा गौरवान्वित भएको धारणा राख्दै कविताको रचनागर्भसहित ‘सगरमाथा पानीको टोपी लाउँछ’, ‘उत्तेजित छन् भारदारहरू’, ‘यति अबेरसम्म’, ‘तुलना’, ‘प्रेमको सोममा मातेपछि’ र ‘फेरिएको ओछ्यान’ शीर्षकका छओटा अत्यन्त शक्तिशाली, सुन्दर र वैचारिक कविता वाचन गर्नुभयो भने वाचन सहयोगी कवि डा.टङ्क उप्रेतीले ‘समयको बङ्गारा झार्न’ र ‘रेस्टुरेन्टको एक छेउमा उभिएर’ शीर्षकका, कवि भागवत आचार्यले ‘चियापासको किसान’ शीर्षकको, कवि ज्योति जङ्गलले ‘हाम्रा हात रोकिए भने’ र ‘अब ऊ पर्खिरहँदैन’ शीर्षकका, कवि यशोदा अधिकारीले ‘भन सराएबो’ शीर्षकका अत्यन्त शक्तिशाली, विचारप्रधान र कलात्मक कवितावाचन गर्नुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक आर.एम.डङ्गोलले साहित्यलेखनको उद्देश्य भनेको विचारनिर्मिति हो । त्यसमा पनि कविता विधा समाज रूपान्तरणको सशक्त माध्यम हो । २०४४ सालदेखि हालसम्म कवि उमेश उपाध्यायले लेख्नुभएका कविताहरू आज वाचित भएका छन् । प्रायः कवितामा अहिलेको वा तत्कालीन समयको स्वर ध्वनित भएको पाइन्छ । निरङ्कुशताको विरुद्धमा देखिएको जनताको आन्दोलनको उत्कर्षलाई सम्मोहकरूपमा कवितामा प्रस्तुत गरिएको छ । सबै कविता समाज रूपान्तरणका पक्षमा वा त्यस कार्यलाई बल पुर्याउन लेखिएका छन् । यात्राविम्बका कविता छन्, प्रकृतिसँगको साहचर्यका कविता छन्, कवितामा परिवर्तनको स्वर प्रमुख रहेको छ, मानवद्वेषी व्यवहारको विरोध गरिएको छ । सोद्देश्यमूलक लेखन भएका कारण कविताहरू विचारप्रधान, वक्रोक्तियुक्त र कलात्मक रहेका छन् । महाशक्ति राष्ट्रको चेपुवामा परेका जनताको आबाज कवितामा बोलिएको छ, उपभोक्तावादी संस्कृतिको प्रभावले ल्याएको विकृतिका प्रति आक्रोश व्यक्त गरिएको छ, अग्रज पुस्ता र नयाँ पुस्ताका बिचमा समन्वय ल्याउने प्रयत्न गरिएको छ, श्रमको सम्मान गरिएको छ, जनताको आन्दोलनले शासकहरू तिल्मिलाएका अवस्थाको जीवन्त चित्रण गरिएको छ, उज्यालोको प्रतीक्षा र मानवतावादको वकालत अनि वर्गीय समाजको अन्त्यसँगै समतामूलक समाज निर्माणको आग्रह बडो सुन्दरढङ्गले गरिएका कवि उपाध्यायका कविताहरू सुन्दर रहेको धारणा राख्नुभयो ।

प्रमुख अतिथि भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेलले तीन वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको आजको यो शृङ्खलामा कवितालेखनमा परिपक्वता प्रदर्शन गर्दै आइरहेका कवि उमेश उपाध्यायलाई प्रस्तुत गरिएको र यो विशेष समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुने र आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा आयोजक जनसाहित्यिक मञ्च नेपाललाई धन्यवाद दिन्छु भन्नुहुँदै गोपालप्रसाद रिमालले ‘हिउँ र आगो झैँ छोइने गरेर आउँछ’ भने झैँ उमेश उपाध्यायका कविताले पनि परिपक्वता प्रदर्शन गरेका छन् । मिथकीय प्रयोगका माध्यमबाट वक्रोक्तिका तहबाट पाठकलाई झङ्कृत पार्न कविता सफल रहेका मैले अनुभूत गरेको छु । सिक्किममा घाम ढिलो झुल्केर अँध्यारो भएको प्राकृतिक यथार्थलाई कल्पनाको तहमा उतारी त्यसमा विचार र कला भर्ने सफलता कविले प्रस्तुत गरेका छन् । विश्वमा मानवता खस्किरहेको, नायक स्खलित भइरहेको यथार्थलाई र यो समसामयिक विषयलाई विम्बात्मक र कलात्मक पार्ने, ध्वन्यात्मक पार्ने, लाक्षणिक पार्ने शिल्प कवि उपाध्यायमा विलक्षण देखापर्दछ । पश्चिममा कवितालाई वस्तुगत पार्ने प्रयत्न रहेको पाइन्छ भने पूर्वमा कविता भनेको लाक्षणिक हुनुपर्छ, वक्रोक्तिमूलक हुनुपर्छ भन्ने मान्यता भामहले स्थापित गरेका हुन् । साहित्यको मूलभूत विशेषता पनि वक्रोक्ति नै हो र यो क्षमता कवि उपाध्यायमा रहेको देखिन्छ । रसियनहरू पनि कविता वक्रोक्तिमूलक नै हुनुपर्छ भन्छन् । कुनै पनि साहित्य त्यसमा पनि कवितासिर्जना सोझो हुनुहुँदैन । कवि सर्जक हो तर अर्थनिर्माण गर्ने भनेको चाहिँ पाठकले हो । एउटै कुराबाट अनेक अर्थ लगाउन सकिने हुनुपर्छ कविता । अर्थात् थोरै शब्दबाट धेरै अर्थ दिने हुनुपर्दछ । त्यसका निम्ति शैलीको खोजी, लाक्षणिकताको खोजी स्रष्टाले गर्नुपर्दछ । छन्दमा राम्रो कविता लेख्न नसक्ने कविले गद्यमा पनि राम्रो कविता लेख्न सक्तैन भनेर एज्रापाउन्ड र टी.एस.इलिएटले पनि भनेका छन् । उमेशका कवितामा अर्थनिर्माण गर्ने प्रयत्न बडो सुन्दर रहेको छ, मिथकीय प्रयोग सशक्त रहेको छ । लामा कवितामा पनि समग्र भाव आइसकेपछि बल्ल पूर्ण विराम आउँछ । प्रकृतिका कुरा, श्रमिकका कुरा, मानवताका कुरा लाक्षणिकरूपमा तर एकअर्काका पूरकका रूपमा आएका छन् र कविता आफैँमा बडो सुन्दर बनेका छन् । कवि उपाध्यायलाई बधाई छ । आजको यो सार्थक कार्यक्रममा उपस्थित भएर म आफूले पनि सुखानुभूति गरेको छु भन्नुभयो ।

सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा चार दशकभन्दा बढी समयसम्म आफूलाई समर्पित गर्दै नेपाली समाजको रूपान्तरण अभियानमा समाहित गर्नुहुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । दुई दशकदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा स्पष्ट उद्देश्यका साथ लागिरहेको र सहयात्रा गरेका इमान्दार कविलाई उहाँका एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्तित्वका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता गर्यौँ । उहाँले पनि निम्ता स्विकारेर आइदिनुभयो । प्रमुख अतिथि प्रा.डा.माधवप्र
साद पोखरेलज्यू, टिप्पणीकार समालोचक आर.एम.डङ्गोल, व्यक्तित्व चर्चाकार डा.विन्दु शर्मा, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको समापनमा रमेश पोखरेलले व्यवस्थितता, गम्भीरता, जिम्मेवार र प्रबुद्ध कार्यशैली भएका अग्रज स्रष्टा उमेश उपाध्यायको कवितालेखनमा विषयको विविधता रहेको छ । राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्मका विषयलाई कविताको विषय बनाइएको छ । श्रमको सम्मान र महत्ताका कविता, आन्दोलनका कविता, समाज रूपान्तरणका कविता लेख्नुभएको छ र श्रमिक आन्दोलनलाई शिष्ट र शालीन बनाउँदै अन्तर्राष्ट्रियकरण गर्नेसम्मका प्रयत्नलाई पनि सिर्जनामा समेट्नुहुने अग्रज स्रष्टाका एक दर्जन कविता सुनिदिन हामीले गरेको निमन्त्रणा स्विकारेर आइदिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौँ र आगामी उनन्चालिसौँँ शृङ्खलामा मोरङको बेलबारीमा रहेर साहित्य साधना गर्ने स्रष्टा रेखा सुवेदीलाई प्रस्तुत गरिने अनि सोको जानकारी पनि गराइँने व्यहोरा निवेदन गर्दै समारोह समापन भएको जानकारी गराउनुभयो ।