बिहिबार, असार ७, २०७५ 21 June 2018

प्रगतिवादी नेपाली साहित्यका सशक्त कवि द्वय डा.रजनी ढकाल र सुस्मिता नेपालका दुई दर्जन प्रतिनिधि कवितावाचन सम्पन्न

          |   प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     ::: 112 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं 

फागुन १२ गते शुक्रवार अपराह्न ठिक २.४५ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४४ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी नेपाली साहित्यका सशक्त कवि द्वय डा.रजनी ढकाल र सुस्मिता नेपालका एघार÷एघारओटा प्रतिनिधि कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन मञ्चकी कोषाध्यक्ष यशोदा अधिकारीले गर्नुभएको थियो । जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी प्रमुख अतिथि रहुनभएको उक्त विशेष समारोहमा वरिष्ठ कवि मञ्जुल, वरिष्ठ साहित्यकार माया ठकुरी र वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, माननीय सानु पहाडीलगायत सम्पूर्ण अग्रज विद्वान व्यक्तित्वलाई अतिथि आसनका लागि एकमुष्ठ आग्रह गरिएको थियो । टिप्पणीकारका रूपमा विदुला घिमिरेलाई आसन ग्रहण गराइएको थियो । दुबै कविनायकलाई समारोहका अध्यक्ष राम विनयले माला लगाएर स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि प्रेमनाथ अधिकारीले सम्मानपत्र अर्पण गर्नुभएको थियो ।

हरेक महिनाको दोस्रो शुक्रवार ठिक २.३० बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने कहिले एक जना र कहिले एक जनाभन्दा बढी प्रगतिवादी साहित्यकारका एक दर्जन वा केही बढी कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको चवालिसौँ शृङ्खलामा अहिलेको समयका सशक्त प्रगतिवादी कवि द्वय डा.रजनी ढकाल र सुस्मिता नेपाललाई ल्याइएको र उहाँहरूले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी राम विनयले दिनुुभयो ।

समारोहकी कविनायक डा.रजनी ढकालले जनसाहित्यिक मञ्च, नेपालले विगत पौने चार वर्षदेखि थालनी गरेको यो अभियानमा आफ्ना कविता सुनाउने अवसर दिएकोमा गौरवबोध भएको छ । उपस्थित आदरणीय र प्रिय व्यक्तित्वका बिचमा कविता सुनाउने अवसरका लागि हार्दिक धन्यवाद दिन्छु । अरूले कविता लेखेको र सुनाएको देखेपछि आापूmलाई पनि कविता लेख्ने रहर जागेको र लेख्न थालेपछि भने कवितालेखन भनेको एक प्रकारको सङ्गत रहेछ भन्ने अनुभूत भएको, दुःखका वेला आत्मबल उठाउने काम कविताले गर्ने गरेको, घरभित्रकै कामले महिलाको व्यक्तिगत उन्नतिमा बाधा परिरहेको देख्दा पीडाबोध हुने र कविता सिर्जना गर्ने गरेको भन्नुहुँदै कविताको रचनागर्भका बारेमा थोरै थोरै जानकारीसहित ‘नेपाल आमालाई सम्झिएर’, ‘पहिलो पहर’, ‘तिम्री आमा बानिरा भएकी छ’, ‘चाहिन्न कुनै नाम’, ‘समय’, ‘अपहरण समयको’, ‘आर्या हुँ’, ‘आँसु’, ‘सहयात्री’, ‘तिमी’, र ‘नभत्किने जीवन’ शीर्षकका एघारओटा अत्यन्त सशक्त समग्र समाजका दुःख, पीडा र उत्पीडनका र त्यसमा पनि महिलाले भोगेका पीडाका जीवन्त अनुभूतिलाई आक्रोशयुक्तm वैचारिकता र कलात्मक बान्कीले युक्त युगबोधी बौद्धिक कविता वाचन गर्नुभयो ।

त्यसैगरी अर्की कविनायक सुस्मिता नेपालले पद्मकन्या क्याम्पसमा एम.ए.पढ्दादेखिका मित्र हामी दुबै जनालाई एकै साथ जनसाहित्यिक मञ्च नेपालले अभियानको रूपमा अगाडि बढाएको यो विशेष समारोहमा आफ्ना कविता वाचन गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद छ । एकैपटक यति धेरै कविता सुनाएको भने आफ्नो पहिलो अवसर पनि हो यो । समाजमा दुःखको अन्त कहिल्यै हुँदो रहेनछ भन्ने पीडाले घच्घच्याइरहने र कविता सिर्जना गर्ने गरेको भन्नु हुँदै ‘आमा’, ‘फाटेको मनको आकाश’, ‘अक्षरहरूमा चामल’, ‘अनुहारबाट आफैँ हराउँदा’, ‘ताल चार’, ‘किबोर्डमा औँलाहरू चाल्नखोज्दा’, ‘सम्झना’, ‘एकान्त’, ‘उध्रिएको जीवन’, ‘आँसु’ र ‘कविताको घर’ शीर्षकका एघारओटा फरक फरक परिवेशका, सामाजिक परिवेशको सपाट उद्घाटन गरिएका, दुःखका, बेराजगारीका, एकल महिलाका पीडाका, श्रमजीवी जनताका पीडायुक्त जीवनका कविता वाचन गर्नुभयो ।

दुबै जनाका वाचित झन्डै दुई दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक विदुला घिमिरेले कविता भनेको कल्पना, विचार र तालको संयोजन हो । कवितालाई कविताकै शिखरमा पुर्याउने यो विशिष्ट शृङ्खलामा आज एक जोडी नारीहरू उपस्थित हुनुभयो । उहाँहरूका कवितामा नारीमनका पीडा र उत्पीडनलाई साधारणीकरण गरेर छताछुल्ल पार्ने काम गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारणले नारीले भोग्नुपरेका उत्पीडनलाई कलात्मकता प्रदान गरिएको छ । रजनी ढकालका कविता बढी तार्किक छन् भने सुस्मिता नेपालका कविता भावनात्मक छन् । सुस्मिताका कवितामा श्रम बेच्नुपर्ने बाध्यता, नारी जीवनचर्यासँगका नारीवेदना उजागर भएका छन् । नारीको समर्पणभावको मूल्याङ्कन नभएको यथार्थको उद्घाटन भएको छ, आक्रोश अभिव्यक्त भएको छ । नारी र पुरुषको सहकार्यको आग्रह दुबैका कवितामा गरिएको छ । मानवजीवन र प्रकृतिलाई एकाकार गरिएको छ, अनुकरणात्मक शब्दको सुन्दर संयोजन गर्दै विम्ब र प्रतीकको सशक्तता कवितामा पाइन्छ । आँसु दुबै कविको विषयसन्दर्भ बनेको छ । रजनीका कवितामा मातृत्वको महत्तागान गाइएको छ, समाजका बेथितिले उत्पीडित नारीको मनोदशालाई उजागर गरिएको छ, महिला पहिचान र पचियविहीन हुनुहुन्न भन्ने आक्रोशयुक्त आग्रह रहेको छ, यथास्थितिवादको विरोध गर्दै समानताको अपेक्षा गरिएको छ, अहिले पनि गृहिणीको सङ्घर्षको अवस्था यथावत छ त्यसैले त्यसको अन्त्यको र सहयात्राको आग्रह गरिएको छ, आँसुले दुःखको विरेचन गर्ने र ऊर्जा प्रदान गर्ने ठम्याइ रहेको छ । आजको यो विशिष्ट समारोहमा वाचित दुबै कविका छोटोछरितो बान्कीका कविता सुन्दर विम्ब प्रतीकले युक्त, भावगाम्भीर्यका, सरल अभिव्यक्तियुक्त सुन्दर संयोजनसहितका रहेका हुँदा अहिलेको समयका सशक्त महिला हस्ताक्षरको यो सिर्जनात्मक उचाइले शिखर चुमोस्, हार्दिक शुुभ कामना छ भन्नुभयो ।

प्रमुख अतिथि प्रेमनाथ अधिकारीले जनसांस्कृतिक महासङ्घको घटक सङ्गठन जनसाहित्यिक मञ्चले महासङ्घसँगैको सहकार्यमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन गरिरहेको ‘अविरल जनसाहित्य यात्रा–४४’ औँ शृङ्खलामा प्रमुख अतिथिको रूपमा उपस्थित हुने अवसर प्राप्त भएकोमा गौरवबोध भएको छ । नेपालको सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमा म आपूmलाई पनि समाहित गर्ने उत्प्रेरणा प्रदान गर्ने अत्यन्त कुशल अभियन्ता आदरणीय अग्रज कवि मञ्जुलसँग आज सँगै बसेर आजको विशिष्ट समारोहमा सशक्त कविद्वयका कविता श्रवण गर्नपाएकोमा पनि मलाई ज्यादै गौरवबोध भएको छ । आजका सशक्त कविद्वय कुशल आमा, कुशल कवि, कुशल गुरुआमा, कुशल गृहिणी हुनुहुन्छ । उहाँहरूका असाध्यै सुन्दर कविता श्रवण गर्ने अवसर प्राप्त भयो । उहाँहरूका कविताका बारेमा समीक्षक विदुला घिमिरेले गर्नुभएको सटिक र सुन्दर टिप्पणी पनि सुन्ने अवसर प्राप्त भयो । त्यसबाट पनि आजका शक्तिशाली कविताको सामथ्र्य खुट्याउन मलाई झनै सहज भएको छ । मलाई पनि आज वाचित कविताले सम्प्रेषण गरेका सन्देश अत्यन्तै सार्थक लागेको छ । म त सामान्य मानिससँग घुलमिल गरेको मानिस हुँ तर सत्चरित्रवान् मानिस बन्नका लागि मध्यपानबाट टाढा रहनुपर्दछ र महिलालाई सम्मान गर्नुपर्छ भन्ने स्कुलिङबाट आएको हुँ । आजका कविताले पनि यही भावनालाई ज्यादै सुन्दर र सशक्त ढङ्गले उजागर गरेका छन् । महिलाको आफ्ना थर हराएर पहिचान नै गुम्ने गरेको हाम्रो समाजको यथार्थपरक समस्यालाई आजका कविताले सशक्तरूपमा उजागर गरेका छन् । यो विषयले मलाई पनि राम्रैसँग झक्झक्याएको छ । हाम्रो देशको ग्रमीण समाजका महिलाले अहिले पनि भोग्दै गरेको वा भोगिरहेको पीडा झनै विकराल छ । पश्चिमी समाजमा छाउपडीको समस्या ज्यादै विकराल छ, स्रष्टाले आफ्ना सिर्जनामा यस्ता समस्यालाई उजागर गर्ने र रूपान्तरणका पक्षमा कलम चलाइदिनुपर्ने टड्कारो आवश्यकता रहेको छ । तराईको जनजीवनमा दाइजो प्रथा जस्तो विकराल समस्या पनि छ त्यसमा पनि रूपान्तरण आवश्यक छ । अहिले पनि हाम्रा घर घरमा महिला उत्पीडन र पीडाका समस्या यथावत छन्, महिला हिंसा न्यूनीकरण नभएको अवस्था छ । यी यावत सामाजिक विकृतिमा रूपान्तरणका निम्ति सामाजिक–सांस्कृतिक अभियान आवश्यक छ । तपाईँ स्रष्टाको धारिलो कलमका माध्यमबाट समाजका विकृतिका प्रति सिस्नोपानी लगाउने र रूपान्तरणका पक्षमा सचेतना फैलाउने कार्य भइरहनु आवश्यक छ । अविश्रान्त लेखिरहनुहोस्, समाज र राजनीतिलाई समेत झकझक्याइरहनुहोस्, तपाईँहरूको अभियानले निरन्तरता पाइरहोस्, हार्दिक हार्दिक शुभ कामना छ भन्नुभयो ।

कार्यक्रम सञ्चालक यशोदा अधिकारीले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने कविनायक द्वय तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभयो र अर्काे शृङ्खलामा यहाँहरूलाई चैत महिनाको दोस्रो शुक्रवार विराटनगरमा रहेर नेपाली प्रगतिवादी साहित्यको सेवामा समर्पित मधु पोखरेल र दोलखामा रहेर सक्रियता देखाइरहनुभएका जित कार्कीलाई प्रस्तुत गर्ने छौँ र त्यस समारोहमा फेरि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)