बिहिबार, साउन १२, २०७४ 27 July 2017

डा.ज्ञवालीको ‘स्वप्नदृष्टि’ महाकाव्य लोकार्पित

          |   प्रकाशित मितिः आइतवार, असार २५, २०७४     ::: 153 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाण्डु

असार २४ गते शनिवार अपराह्न १.३० बजे बुद्धनगर पार्टी प्यालेस, काठमाडौँमा प्रखर कवि एवम् समालोचक डा.रामप्रसाद ज्ञवालीको यात्रा–महाकाव्य ‘स्वप्नदृष्टि’को लोकार्पण नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हक, राजनीतिज्ञ नारायणमान बिजुक्छे ‘रोहित’ र साहित्यकार मोहन दुवालले संयुक्तरूपमा गर्नुभयो ।

जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समरोहमा विशिष्ट अतिथिका रूपमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका नेपालका लागि महामहिम राजदूत किम योङ हक हुनुहुन्थ्यो भने अतिथिहरूमा उत्तर कोरियाली दूतावासका किम जोङ हक, प्रा.डा.महादेव अवस्थी, प्रा.डा.हेमचन्द्र नेपाल, कथाकार माया ठकुरी, वरिष्ठ कवि मित्रलाल पंज्ञानी, शंकर भारती, जनगायक रामकृष्ण दुवाल, वरिष्ठ गायक शिशिर योगी, गायक दामोदर अधिकारी, महाकाव्यका लेखक डा.रामप्रसाद ज्ञवाली, राजनीतिज्ञ माणिक लामा, प्रा.घनश्याम कँडेल, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा.जगदीशचन्द्र भण्डारी, वरिष्ठ साहित्यकार रमेश खकुरेल, वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, प्राज्ञ शम्भुकुमार मिलन, प्रा.गोपीकृष्ण शर्मा, टङ्क पन्त, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, वरिष्ठ उपन्यासकार गीता केशरी, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’लगायत उपस्थिति हुनुहुन्थ्यो ।

प्रखर कवि एवम् समालोचक डा.देवी नेपालद्वारा सञ्चालित उक्त विशेष एवम् भव्य समारोहमा डा.ज्ञवालीद्वारा लिखित राष्ट्रगान गायक दामोदर अधिकारीले गाउनुभएर कार्यक्रमको शुभारम्भ भएको थियो । डा.ज्ञवालीलाई देवीप्रसाद घिमिरेले टोपी र खादा लगाइदिएर गुरुसम्मान गर्नुभएको थियो । वरिष्ठ कवि मित्रलाल पंज्ञानीले कविको दृष्टिबाट ‘स्वप्नदृष्टि’ महाकाव्यका बारेमा चर्चा गर्दै डा.ज्ञवालीको जीवनगणितमा हिसाब ठ्याक्क मिल्छ; कुनै पनि काम थालेपछि नछाड्ने ज्ञवाली थाक्दै नथाक्ने अथकित मात्र होइन कविताको लत लागेका व्यक्ति हुन् र कुनै पनि कुरामा कहीँ र कसैसँग पनि बहसको थालनी गर्ने, सिर्जनाको निरन्तर बेग भएका, श्रमजीवी वर्गका पक्षधर, विशिष्ट कवित्व क्षमता भएका र सूक्तिमयलेखन शैली भएका व्यक्ति हुन् र उनको यो महाकाव्य पनि ज्ञवालीका यिनै गुणले युक्त भएकाले विशिष्ट रहेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

प्रा.डा.हेमचन्द्र नेपालले महाकाव्यले समृद्धशाली उत्तर कोरिया र दक्षिण कोरियाको मिलन आवश्यक भए पनि शक्तिराष्ट्रको अवरोधका कारण सम्भव नभइरहेको पक्षलाई उजागर गरेको छ । प्रत्येक कवितामा विचार हुन्छ र त्यसमा कविको कला मिसिन्छ । यो महाकाव्यमा पनि पहिलो र दोस्रो सर्गमा कवित्वको उचाइ प्राप्त गर्नसकिन्छ र त्यो उचाइ कालिदासको कोटिको रहेको छ । यस महाकाव्यलाई अर्काे संस्करणमा थप परिष्कार गरेर परिपूर्ण पार्नुहोस् किनभने पहरामा फुलेको उन्नत सुनकेस्रा पूmल बनेको छ यो महाकाव्य । कवि कुनै पनि विचारको अन्धसमर्थक नभएर आलोचनात्मक समर्थक बनेका देखिन्छन् । कोरियाको विकास, समग्र शिक्षाको चित्रण, स्वतन्त्रताका पक्षमा चतुर वकालत, भूगोल टुक्रिनुहुन्न भन्ने दृष्टिकोण, एकताको मानवतावादी उच्च दृष्टिकोण पनि महाकाव्यमा अभिव्यक्त भएको छ भन्ने धारणा राख्नुभयो ।

प्रा.डा.महादेव अवस्थीले महाकाव्यलेखन चुनौतीपूर्ण कार्य हो र समीक्षा गर्नु पनि त्यत्तिकै चुनौतीपूर्ण कार्य हो, कठिन कार्य हो । विद्वानका चिन्तन र विचारलाई समेत समेटेर गम्भीर अर्थ सम्प्रेषण गर्ने स्रष्टाले मात्र महाकाव्य लेख्नसक्छ । अनि कविले भन्न बाँकी राखेका कुरा समीक्षकले भन्न सक्नुपर्छ । महाकाव्य सिर्जनाको कुरा गौरवको कुरा हो । त्यस्तो गौरव स्रष्टाको परिवारको गौरव हो, समाजको गौरव हो र समग्र राष्ट्रको गौरवको कुरा हो । महाकाव्यले राष्ट्रिय र जातीय गौरवको कुरा समेटेको हुन्छ । सनातनकालदेखिको साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी शक्तिका विरुद्धको राष्ट्रवादी आन्दोलन वा द्वन्द्वलाई महाकाव्यको विषयवस्तु बनाइएको छ तापनि अझै परिष्कार भने आवश्यक छ । आधुनिक नेपाली साहित्यका उत्कृष्ट मानिएका तरुण तपसी, शाकुन्तल, प्रमिथस र मृत्युञ्जय जस्ता महाकाव्यसँग यो महाकाव्यलाई मैले तुलना गरेर र अन्य महाकाव्यसँग समेत तुलना गरेर अध्ययन गर्दा यस महाकाव्यले उत्कृष्ट मानिएका महाकाव्यसँग तुल्यता राख्दछ । यो ‘स्वप्नदृष्टि’ महाकाव्यको विषयवस्तु पनि नितान्त कविकल्पनामा आधारित छ । ‘तरुण तपसी’ पनि कविकल्पानामै आधारित महाकाव्य हो र यो सर्वाधिक लोकप्रिय पनि छ । साहित्यका र साहित्यत्तर पाठकले सूत्तिमयताका कारण लेखनाथ पौड्याललाई सम्झन्छन्, उनका सिर्जना पाठकका मुखैमा झुन्डिन्छन् । महाकाव्कार डा.रामप्रसाद ज्ञवालीले पनि आलोचना र व्यङ्ग्यको लेखनाथले झैँ उदात्तीकरण गर्नुहोस् त्यसपछि यो महाकाव्य उच्च तहको हुनसक्दछ । उच्चतर स्तरको महाकाव्य यस महाकाव्यको भावभूमिमा रहेर अब तपाईँ लेख्नुहोस् र त्यसको भूमिका पनि आफैँ लेख्नुहोस्, जसरी देवकोटाले लेखेका थिए । हुन पनि सिर्जनामर्मको सबैभन्दा बढी जानकार स्रष्टा मात्र हुनसक्छ । लामा भूुमिका नराखेको राम्रो । यो महाकाव्य कलात्मक, गुणवत्तापूर्ण रहेको छ त्यसैले डा.ज्ञवालीलाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

जनगायक रामकृष्ण दुवालले हिँडिरहूँ हिँडिरहू यात्राकाव्यको लोकार्पणका दिन कान्छी बुहारीले तत्काल बनाएको डा.ज्ञवालीको तस्बिर डा.ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो र ‘स्वप्नदृष्टि’ महाकाव्यका २६ छन्दमध्ये ६ छन्दका एक एक श्लोक सस्वर वाचन गर्नुभयो ।
कोरिया विज्ञ शंकर भारतीले महाकाव्यका ८ सर्ग नेपालदेखि चीनका र बाँकी ९ सर्ग कोरियाका बारेमा लेखिएको छ । शक्तिराष्ट्रहरूले उत्तर कोरियाका बारेमा प्रचार गर्ने गरे जस्तो भ्रमात्मक छैन कोरिया, बरु राष्ट्र र जनताको संयुक्त प्रयत्नबाट, मेलमिलापबाट राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने अनुपम नमुनाको देश हो उत्तर कोरिया । हाम्रो देशलाई भारतले नौ महिना नाकाबन्दी गर्दा हामीलाई तहसनहस पारेका थिए तर कोरियालाई लगभग चालिस वर्षदेखि शक्तिराष्ट्रहरूले नाकाबन्दी लगाएका छन् र पनि नेपालभन्दा सानो भूभाग रहेको त्यो देश समृद्ध रहेको छ । विकासको अनुपम नमुना छ त्यहाँ । उत्तर कोरियाले पनि शक्तिप्रदर्शनकै माध्यमबाट शक्तिराष्ट्रलाई चुनौती दिँदै विश्वलाई सन्तुलनमा राख्नसकेको छ । आफ्नै क्षमताले र जनताको सहयोगले आत्मनिर्भर रहेको छ, विकसित बनेको छ उत्तर कोरिया । अनुशासित र श्रमशील जनताद्वारा निर्मित उक्त देशमा शिक्षा र स्वास्थ सम्पूर्ण निःशुल्क रहेको छ । यी सबै यथार्थलाई लुकाएर शक्तिराष्ट्रले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको यथार्थलाई डा.ज्ञवालीको महाकाव्यले उजागर गरेको छ । त्यस अर्थमा डा.ज्ञवालीलाई धन्यवाद दिन्छु भन्नुभयो ।

वरिष्ठ कथाकार माया ठकुरीले सरल, मृदुभाषी, नारीका प्रति सम्मानभाव व्यक्त गर्ने डा.ज्ञवाली गुणग्राही व्यक्तित्व भएको चर्चा गर्नुभयो । महाकाव्यकार डा.रामप्रसाद ज्ञवालीले घर, परिवार, साथीभाइ, गुरुहरू, सबै सबैको सहयोगले म बनेको हुँ, म एक्लै केही होइन । मेरो निमन्त्रणालाई स्वीकारेर महामहिम राजदूत आइदिनुभयो, यति लामो समयसम्म बसिदिनुभयो आभार व्यक्त गर्दछु । अनुशासन, परिश्रम, एकता र विश्वास उत्तर कोरियाको जस्तो हुने हो भने हाम्रो मुलुक ५–६ वर्षमै समृद्ध बन्छ । मेरो महाकाव्यको पाण्डुलिपि नारायणमान बिजुक्छेलाई घरैमा गएर दिएँ, उहाँले पढेर सुझाबसमेत दिनुभयो, आज यहाँसम्म आइदिनुभयो, प्रमुख आतिथ्य ग्रहण गरिदिनुभयो । यहाँहरू सबै जना आइदिनुभयो, यो नै मेरो सम्मान हो, मैले पुरस्कार पाएसरह हो भन्नुभयो र सबैलाई हार्दिक आभार व्यक्त गर्नुभयो ।
वरिष्ठ गायक एवम् सङ्गीतकार शिशिर योगीले डा.ज्ञवालीद्वारा लिखित राष्ट्रगान गाएर मन्त्रमुग्ध पार्नुभयो ।

प्रमुख अतिथि नारायणमान बिजुक्छे ‘रोहित’ले नेपाली साहित्यमा साधनारत डा.रामप्रसाद ज्ञवालीले लेख्नुभएको यो स्वप्नदृष्टि महाकाव्य उच्चस्तरको रहेको छ । उत्तर कोरियाका पूर्व राष्ट्रपति किम इल सुङको चरित्र वीर र धीर रहेको छ, उहाँमा महाकाव्यको नायकमा हुनुपर्ने गुण रहेका छन् । यद्यपि डा.ज्ञवालीले त्यस्तो नायकलाई यो महाकाव्यमा स्थापित गर्नुभएको छैन । छन्द जागरण र छन्द बचाऊ अभियानका अभियन्ता हुनुहुँदोरहेछ उहाँ । आजको यो विशिष्ट र भव्य समारोहमा विभिन्न विद्वानहरूसँग परिचय गर्ने अवसर प्राप्त भयो र उहाँहरूका अभिव्यक्ति सुन्ने अवसर पनि प्राप्त भयो । यो महाकाव्य आख्यानप्रधान होइन अनुभूतिप्रधान हो । यसले उठाएका विषयका बारेमा बहसहरू गर्न सकिन्छ । राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको रक्षा; अन्याय, अत्याचार र शोषणको विरोध प्रगतिशील साहित्यको सरोकारको विषय हो । खुला बजार अर्थतन्त्रको प्रभाव अहिलेको चीनमा बढी नै परेको छ भने उत्तर कोरिया त्यो अवस्थाबाट अझै मुक्त छ । कोरियनहरू आफ्नो देशलाई सपनाको देश ठान्छन् तर साम्राज्यवादीहरू उक्त देशलाई विभिन्न बहाना बनाएर बदनाम गर्ने कोसिस गर्दछन्, गरिरहेका छन् । कोरिया आकारमा हामीभन्दा सानो छ, जनसङ्ख्या पनि कम छ तर विकास अत्यन्त तीव्र छ, जनताको जीवनस्तर अत्यन्त उच्च छ त्यसैले साम्राज्यवादीहरू दुश्प्रचार गरेर युद्धमा होम्न चाहन्छन् । युद्ध भयो भने अर्थात् युद्धको हौवा पिटाउन सकियो भने बजेटको ठुलो हिस्सा हतियारमा खर्चेर विकास अवरुद्ध होस्, जनताको जीवनस्तर कमजोर होस् भन्ने चाहन्छन् । हाम्रो देशमा पनि हिन्दुस्तानले चाहेको जस्तो संविधान नभएर हामीले चाहेको जस्तो बनाएका कारण उनीहरू कुनै न कुनै बहाना झिकेर दुःख दिइरहेका छन्, ठिक त्यसै गरी जापानको संविधान पनि बेलायत र अमेरिकाको दबाबमा बनेको हुँदा जापानले दुई कोरियाको मिलन हुन दिँदैन भन्नु सत्य होइन । डा.ज्ञवालीको यो महाकाव्य अन्तर्राष्ट्रिय विषय समेटेर लेखिएको छ । उहाँ युवा नै हुनुहुन्छ । हुन त युवा भनेको उमेरले होइन विचारले, आँटले र साहसले हुने हो । साम्राज्यवादीले संसारभरि भ्रम छरेर यथार्थ बाहिर आउनै नदिएको मुलुकको समृद्धिका बारेमा, श्रमजीवी जनताको मिहिनेत र इमानका बारेमा लेखिएको यो महाकाव्य उत्कृष्ट पनि रहेको छ त्यसैले महाकाव्यकार डा.रामप्रसाद ज्ञवालीलाई हार्दिक बधाइ छ भन्नुभयो ।

महाकाव्य प्रकाशक ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेले उत्तर कोरियाका बारेमा भ्रम छर्ने प्रयत्नका विरुद्धमा र अन्धविश्वास चिर्ने प्रयासस्वरूप डा.रामप्रसाद ज्ञवालीले यो महाकाव्य लेख्नुभएको हो र यो विशिष्ट समारोहका हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिएर सहयोग गर्नुहुने सबै सबैमा हार्दिक धन्यवाद छ भन्नुभयो, आभार व्यक्त गर्नुभयो ।

सभाध्यक्ष मोहन दुवालले पन्द्र वर्षअघि आपूm उत्तर कोरिया गएको, चीनमा स्वतन्त्रता अलि बढी देखेको; उत्तर कोरिया सानो, शान्त, श्रमशील र अनुशासित जनता भएको देश हो र स्रष्टालाई सम्मान पनि गर्ने देश हो । त्यति हुँदाहुँदै पनि अरूका बारेमा भने उत्तर कोरियालीहरू जानकारी राख्छन् । साहित्य र कलाको सम्मान गर्ने परम्पराको विकास हाम्रो देशमा हुनसकेको छैन तर कोरियामा स्रष्टाको वर्गीकरण गर्ने र राज्यले सम्मान गर्ने परम्परा छ । ‘स्वप्नदृष्टि’ महाकाव्यका कवि डा.ज्ञवाली धरतीलाई माया गर्ने, गुणग्राही व्यक्तित्व भएको धारणा राख्नुभयो ।