सोमवार, भदौ ४, २०७५ 20 August 2018

अविरल जनसाहित्य यात्रा–४८ मा ‘बालसाहित्यबारे विशेष परिचर्चा’

          |   प्रकाशित मितिः शनिबार, साउन १२, २०७५     ::: 20 पटक पढिएको   |  

साउन ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४८ औँ शृङ्खला बृहत् उपस्थितिमा भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्यका विशिष्ट विद्वान प्रा.डा.चूडामणि बन्धुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भयो भने परिचर्चाका लागि बालसाहित्यका क्षेत्रमा क्रियाशीनल विद्वानहरू विनय कसजू र डा.ध्रुव घिमिरे उपस्थित हुनुहुन्थ्यो ।
उक्त विशेष समारोहको संयोजन डा.विन्दु शर्माले गर्नुभएको थियो भने डा.भागवत आचार्यले समेत सहयोग गर्नुभएको थियो । पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदी, वरिष्ठ साहित्यकार सुलोचना मानन्धर, वरिष्ठ कलाकार के.के.कर्माचार्य, डा.षडानन्द पौडेललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

४५ औँ शृङ्खलासम्म नेपाली प्रगतिवादी साहित्यमा साधनारत एक जना वा कहिलेकाहीँ सोभन्दा बढी स्रष्टाका एक दर्जन कविता, गीत, गजल श्रवण गर्ने र ती सिर्जनामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गर्ने गरिएकोमा ४६ औँ शृङ्खलामा आख्यानका बारेमा परिचर्चा गरियो भने ४७ औँ शृङ्खलामा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’का बारेमा परिचर्चा गरियो । योपटक बालसाहित्यका बारेमा परिचर्चा गर्नका लागि हामीले दुई जना विशिष्ट विद्वानलाई आमन्त्रण गरेका छौँ । बालसाहित्यमा कलम चलाउनेहरूले यो गहकिलो क्षेत्र र विषय हो भन्नेतर्फ ध्यान दिनुपर्दछ भनेर अलि गम्भीर नै बहस गर्ने हामीले उद्देश्य लिएका हौँ त्यसैले यो विशेष समारोह प्रशिक्षणमूलक पनि र अन्तरक्रियामूलक पनि होस् भन्ने हाम्रो चाहना रहेको छ भन्ने धारणासहित सभाध्यक्ष राम विनयले प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धु, परिचर्चाकार विनय कसजू र डा.ध्रुव घिमिरेलाई मञ्चमा स्वागत गर्नुभयो ।

समारोहमा डा.ध्रुव घिमिरेले ‘बालविकासमा बालसाहित्यको भूमिका’ विषयमा परिचर्चा गर्नुहुँदै २,५०० वर्ष अगाडि नै बालसाहित्य लेखिएको भए पनि प्रौढ साहित्यका तुलनामा कम चर्चा भएको, कम लेखिएको, यथार्थमा बालकलाई ऋजष्मि ष्क ब ँबतजभच या ःबल भन्ने गरिएको, १६ वर्षभन्दा मुनिका बालबालिकालाई बालकका कोटिमा राख्ने गरिएको, यो उमेरसम्ममा बालकका पाँच चरण हन्छन् ती चरणअनुसार बालसाहित्य लेखिनुपर्ने हुँदा बालसाहित्य सिर्जना कठिन छ त्यसैले पनि यो उपेक्षित छ सायद ! बालसाहित्य सिर्जना गर्दा बच्चाले बुझ्नेगरी लयात्मक पारेर र चित्रसमेत कोरेर लेख्ने हो भने बालकहरूलाई त्यसले आकर्षित गर्ने, आमाले बच्चा सुताउँदा गाएका लोरी पनि बालसाहित्यको कोटिमा पर्ने, आमाले भान्सामा भाँडाकुँडा चलाएको नक्कल गर्दै बच्चाले पनि भाँडाकुटी खेल्ने र अभिनय गर्ने हुँदा भाषिक, शैक्षिक र मनोवैज्ञानिक साहित्य बालकको स्तरअनुसार लेखिनुपर्दछ । बालक ९–१२ वर्षको उमेरमा पुग्दा पूर्णतातिर जाने हुँदा त्यसैअनुसार स्तरअनुकूल हुनेगरी विषयवस्तुमा, आकर्षणमा र मनोविज्ञानमा पनि ख्याल गरी बालसाहित्य तयार गरिनुपर्ने धारणा राख्नुभयो ।

अर्का बालसाहित्यकार विनय कसजूले ‘बालसाहित्य, बालविकास र सञ्चार’ विषयमा परिचर्चा गर्नुहुँदै पशुका बच्चालाई हुर्कन पोषिलो खाना आवश्यक भए जस्तै मान्छेका बच्चालाई असल शिक्षाका माध्यमबाट राम्रो मान्छे पार्ने प्रयत्न गर्नुपर्दछ । अभिभावक चेतनशील भएनन् भने बालसाहित्य पढ्नपढाउन कठिन हुन्छ । हाम्रो देशमा १४ वर्षमुनिका बालबालिका ९० लाख छन् तर बालसाहित्यका किताब एक हजार छापिन्छन् ! यो तथ्याङ्कले पनि बालसाहित्यको रिक्तताबोध गराउँछ । बालबालिकाको आनीबानी, स्वभाव, रुचिअनुरूप सञ्चार माध्यम पनि र बालसाहित्यका विषय पनि परिवर्तन हुनु आवश्यक छ । विचार फराकिलो पार्नुपर्ने तर काम स्थानीयतानुसार गर्नुपर्ने आजको आवश्यकता हो । श्रवणकुमारले बाबुआमा बोकेको आदर्श पूर्वीय मान्यतामा उदाहरणीय छ भने पश्चिमी समाजले त्रूmरताका रूपमा लिन्छ । त्यसैले ठाउँ र परिस्थितिअनुसार फरक अर्थ लाग्नसक्छ । पञ्चतन्त्र र बौद्धगाथामा पनि बालसाहित्यको चर्चा गरिएको छ । त्यसैले बालसाहित्य उद्देश्यमूलकढङ्गले लेखिनुपर्दछ र बच्चालाई पनि लोकतान्त्रिक अभ्यासका माध्यमबाट सिकाउने परिपाटीको विकास गरिनुपर्दछ भन्ने धारणा राख्नुभयो ।

अन्तरिक्रियामा भाग लिँदै पुरुषोत्तम सुवेदीले विकसित मुलुकमा बालकको उमेरअनुसारका खेलौना र पाठ्यक्रम हुने धारणा राख्नुभयो । त्यसैगरी कृष्णदेव सिग्देल, गङ्गा कसजू, नर्मदेश्वरी सत्याल, गङ्गा कर्माचार्य पौडेल, कौशिला रिजाल, यशु श्रेष्ठ, माधव सयपत्री, नमुना शर्मा, जयन्ती स्पन्दन, मिसन अधिकारी र डा.भागवत आचार्यले यस्ताखाले गहन परिचर्चा महत्त्वपूर्ण हुने, बालसाहित्यमा लयचेतना सशक्त हुनुपर्ने, सञ्चारमाध्यमले पनि बालसाहित्यलाई विशेष स्थान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धुले आजको यो विशेष समारोह निकै नै महत्त्वपूर्ण र गम्भीर रहेको, बालबालिकालाई पाठ्यक्रमका अतिरिक्त उनीहरूको स्तरअनुसारका अन्य साहित्यिक सामग्री अति नै आवश्यक हुने, बालबालिका नै भोलिका देशका कर्णधार हुने भएकाले बालसाहित्यलाई सञ्चारका माध्यमले पनि महत्वका साथ स्थान दिनुपर्ने अनि बालिसाहित्यका स्रष्टाले पनि बालकको उमेर तथा स्तरअनुसारको साहित्य सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चालक डा.विन्दु शर्माले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथिज्यू, बालसाहित्यका विद्वानहरू तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभयो र अर्काे शृङ्खलामा यहाँहरूलाई भदौको दोस्रो शुक्रवार फेरि कुनै समसामयिक विषयमा छलफल तथा बहसमा सहभागी भइदिन आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो ।
समाचार स्रोत: राम विनय

Please follow and like us:


Do you like our contents? Please spread the word :)